जाजरकोट ।
जाजरकोटको कुशे गाउँपालिका-८ साङटादेखि जुम्लाको तातोपानी गाउँपालिका-८ इमिल्चाघारी जोड्ने सुरुङमार्ग निर्माणका लागि अध्ययन सुरु भएको छ ।
पहिलो चरणको अध्ययनको जिम्मेवारी आईटेको टीएमएस रे जेभीले पाएको छ ।
निर्माण कम्पनी आईटेको टीएमएस रे जेभीका प्रमुख राजीव झाले पहिलो चरण काम पूरा भएपछि डिपिआरका लागि दोस्रो चरुणको काम सुरु हुने बताए ।
हाल जाजरकोट सदरमुकाम पाँचकाटिया हुँदै हानिसल्ला काइल्दापाखा सिल्पाचौर हुँदै बारेकोट जुम्ला जोड्ने सडक निर्माण जारी छ ।
जाजरकोट र जुम्ला जोड्ने सबैभन्दा छोटो बाटो सुरुङमार्ग नै हुने भएको यसमा जोड दिइएको पूर्वमन्त्री गणेशप्रसाद सिंहले बताए ।
साङटाबाट इमिल्चाघारीसम्म अहिलेको लम्बाइ झन्डै १० किलोमिटर छ । सुरुङका लागि करिब ५ किलोमिटरभन्दा कम प्वाल बनाउनुपर्ने पूर्वमन्त्री सिंहले बताए ।
हिँडेर झन्डै ७ घन्टामा अग्लो डाँडा पार गर्न सकिन्छ भने सुरुङमार्गबाट ३० मिनेटमै जुम्ला जान सकिने उनको भनाइ छ ।
दाङ हुँदै जाजरकोट जुम्लाबाट रारा जोड्नका लागि यो सडक सबैभन्दा छोटो हुने भएकाले काम सुरु गर्न लागिएको छ । अहिले जाजरकोट सदरमुकामबाट बारेकोट–४ को दहसम्म सडकको कच्ची कटान पूरा भएको छ । हलुका सवारी साधनसमेत सञ्चालन भइरहेका छन् । सदरमुकाम खलङ्गाबाट पाँचकाटिया हुँदै सुरुङमार्ग निर्माणस्थलसम्म सडक निर्माण जारी छ ।
जुम्ला र जाजरकोटसँगै जोडिए पनि अग्ला हिमालहरु पार गर्नुपर्दा धेरै समय खर्चिनुपर्ने अवस्था छ । हिमाली क्षेत्रमा सडक निर्माण गर्दा त्यहाँको पर्यावरणीय सुन्दरता गुम्ने खतरा भएकाले सुरुङमार्ग निर्माणका लागि पहल थालिएको सिंहले बताए । जुम्ला, हुम्ला र मुगु जिल्लाबाट देशका ठुला सहरमा जोडिने सबैभन्दा छोटो रुटका रूपमा यसलाई लिइएको छ ।
जुम्लाबाट कालीकोट हुँदै नेपालगन्ज तथा सुर्खेत जाने सडकभन्दा सुरुङमार्ग हुँदै नेपालगन्ज, सुर्खेत जाँदा र आउँदा ७ घन्टा छिटो हुने सडक डिभिजन चौरजहारीका प्रमुख आसुतोश कर्णको भनाइ छ । जुम्लाका जनप्रतिधिका लागिसमेत यो मार्ग महत्वपूर्ण हुँदै आएको पूर्वमन्त्री नरेश भण्डारीले बताए ।
कन्सलट्यान्टले यसका लागि ५ महिनाको समय पाएको छ । जसमा २ महिना बितिसकेको छ । साथै अहिले बर्खायाम भएकाले कागजी काम मात्रै भइरहेको र बर्खा सकिने बित्तिकै फिल्डैमा गएर काम सुरु हुने कम्पनीको भनाइ छ ।
बर्खामा सुरुङमार्गसम्म जान र आउन बाटो अप्ठयारो भएकाले काम गर्न मुस्किल भएको निर्माण कम्पनीको भनाइ छ ।
प्रतिक्रिया