सम्पदाकाे माैलिक रूपमै संरक्षण गरिन्छ : मन्त्री किराँती

सम्पदाकाे माैलिक रूपमै संरक्षण गरिन्छ : मन्त्री किराँती


लुम्बिनी ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले सम्पदाहरूको खोजी गरी मौलिक रूपमा संरक्षण गर्ने बताएका छन् ।

लुम्बिनीमा सोमबार उद्घाटन भएकाे लुम्बिनी विकास कोषको परिषद् बैठकलाई सम्बोधन गर्दै मन्त्री किराँतीले पुर्खाहरूले जोगाएका सम्पदालाई मौलिक रूपमै संरक्षण गनुपर्ने बताएका हुन् ।

मन्त्री किराँतीले विदेशीको नक्कल गर्दा सम्पदा क्षेत्र पार्क र फाइभ स्टार होटल जस्ता बन्न थालेको भन्दै त्यसो हुन नदिने बताए । लुम्बिनी विकास कोषका अध्यक्षसमेत रहेका किराँतीले सम्पदाहरूलाई संस्कृति र प्रकृतिमैत्री रूपमा विकास गर्नुपर्ने बताए ।

पुर्खाले छाडेर गएका सम्पदाहरूको खोजी गरेर सम्पदालाई सम्पदाकै रूपमा विकास गर्ने नीति सरकारले लिने मन्त्री किराँतीले बताए ।

उनले गौतम बुद्धले विश्व शान्तिका लागि वैचारिक रूपमा क्षेप्यास्त्र संसारभर फैलाएको बताए । उनले लुम्बिनीलाई विश्व शान्तिका रूपमा विकास गर्ने गरी नयाँ योजनाका साथ काम गर्ने प्रतिबद्धता जनाए ।

उनले मन्त्रालय सम्हालेको ६ महिनामा लुम्बिनीमा जति ध्यान दिनुपर्ने त्यति दिन नसकेको बताए । मन्त्री किराँतीले ६ महिनाको अनुभवले ऐन नियमहरूलाई समयअनुकूल बनाउन पुनर्लेखन र संशाेधन गर्ने, मन्त्रालय मातहत रहेका ऐन कानुन संघीय लोकतान्त्रिक गणतन्त्रलाई बोक्न सक्ने गरी संशोधन गर्ने, मन्त्रालय मातहतका विभागहरूमा देखिने गरी परिणाममुखी काम गर्ने र आधारभूत रूपमा भएका कामहरूको मसिनो गरी फलोअप गर्ने बताए ।

परिषद् बैठकको उद्घाटन सत्रमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला श्रीपाली ठकुरीले बुद्ध जन्मस्थल लुम्बिनीलाई सुगन्धका रूपमा विश्वसामु चिनाउनुपर्ने बताइन् ।

उनले लुम्बिनीलाई पवित्र स्थलका रूपमा विकास गर्नका लागि सबै पक्षलाई समेटेर अगाडि बढ्न सुझाव दिइन् । राज्यमन्त्री ठकुरीले गौतम बुद्धकै कारण नेपाल देशको परिचय विश्वभर भएकाले लुम्बिनीलाई कसैको स्वार्थमा राख्न नहुने बताइन् ।

उक्त अवसरमा लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मैत्तेयले कोषमा रहेका विभिन्न नीतिगत समस्याहरू भएको र गुरुयोजनाका कामहरू पूरा हुने चरणमा रहेको बताए । उनले विगतलाई फर्केर हेर्दा लुम्बिनीमा गुरुयोजना निर्माणदेखि राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा राम्रो काम गरेको बताए । उनले गुरुयोजनाको काम अबको ३ वर्षमा सम्पन्न हुने र त्यसका लागि ३ अर्ब रुपैयाँ बजेट आवश्यक पर्ने बताए ।

कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराईले स्वागत गर्दै परिषद् बैठकलाई नीतिगत छलफलको थलोका रूपमा अघि बढाउने अभ्यास गरिएको बताए । परिषद् बैठकले आर्थिक वर्ष २०८०/०८१ को नीति–कार्यक्रम तथा बजेट र अन्य विभिन्न प्रस्तावमाथि छलफल गरी निर्णय गर्ने सदस्य सचिव सानुराजा शाक्यले जानकारी दिए ।

परिषद् बैठकमा लुम्बिनी विकास कोषका पदाधिकारी, कार्यकारिणी सदस्य, परिषद सदस्यहरूको सहभागिता थियो ।