गण्डकीका १३ सडक र ३ पुल वर्षाैँदेखि अलपत्र

गण्डकीका १३ सडक र ३ पुल वर्षाैँदेखि अलपत्र

कुनैमा अधुराे काम, कतै सुरु नै भएन


पाेखरा ।

२०७३ साल असार २० मा ठेक्का सम्झौता भएर निर्माण सुरु गरिएको मनाङको नासों गाउँपालिकास्थित दूधखोला पक्की पुल वर्षौंदेखि अलपत्र छ । संघीय सरकारबाट प्रदेशमा हस्तान्तरण भएको उक्त आयोजनाको हालसम्मको भौतिक प्रगति जम्मा ३० प्रतिशत छ ।

तत्कालीन जिल्ला विकास समिति छँदै ठेक्कामा गएको उक्त पुल सात वर्ष बित्दासमेत बन्न सकेको छैन । निर्माण व्यवसायीको ढिलासुस्तीका कारण पुल अलपत्र परेको पूर्वाधार विकास कार्यालय मनाङका सब–इन्जिनियर धनबहादुर गुरुङले बताए ।

‘पुलको दुवैतिर जग मात्र बनेको छ, बाँकी अलपत्र छ’, उनले भने, ‘निर्माण व्यवसायीलाई पटक-पटक ताकेता गर्दा पनि काम हुन सकेको छैन ।’ निर्माण कम्पनी क्याराभानले उक्त पुल निर्माणको जिम्मा पाएको थियो । स्थानीय तह नबन्दै निर्माण सुरु भएको मनाङकै मर्स्याङ्दी नदी पुल पनि वर्षौंदेखि अलपत्र अवस्थामा छ ।

यीसहित गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयअन्तर्गत १६ पूर्वाधार आयोजना रुग्ण अवस्थामा छन् । यसमा १३ सडक र ३ पुल आयोजना छन् ।

पर्वतको मिलचोक-सल्यान-घाहाखेत-धारापानी-ठोटनेरी सडक, स्याङ्जाको मिर्मी–बिर्घा–रानीघाट, वालिङ–काफलडाँडा–रोग्दी–रामपुर सडक, मनाङको दूधखोला र मर्स्याङ्दी नदी पुल र गोरखाको नारेश्वर–पाणिनी–ताकुकोट सडक (दोस्रो खण्ड) अलपत्र छ ।

तनहुँको भानुमार्ग–चन्द्रवती–पोखरीछाप–कुन्छाफेँदी जोड्ने सडक, दुलेगौँडा–हर्कपुर मार्ग, रिसिङ–भीरकोट, कृष्ण मार्ग (देउराली–केलादीघाट), नवलपुरको मकुन्दुपुर–अहाले–रतनुपर हुँदै बुलिङटार जोड्ने सडक, चिसापानी पक्की पुल, कास्कीको बेगनास भञ्ज्याङ–आनन्दज्योती सडक, फुर्सेखोला–मट्टीखान सडक रुग्ण अवस्थामा छ ।

पूर्वाधार विकास कार्यालय बागलुङ अन्तर्गत कुश्मिसेरा–राङखानी–नाम्दुक–बरेङ–शान्तिपुर र गलकोट–हरिचौर–हिल–तारा–रुम जोड्ने सडकको काम पनि सुस्त गतिमा भइरहेको छ । दुवै आयोजना बहुवर्षीय हुन् । बागलुङको गलकोट हुँदै म्याग्दीको रुम जोड्ने ४० किमि सडक सडकमध्ये दस किमि कालोपत्रका लागि विसं २०७६ मा ठेक्का भएर निर्माण अघि बढेको थियो ।

निर्माण कम्पनी एपेक्स–खड्का कृष्ण जेभीले दोस्रो पटक म्याद थपिए अनुसार २०७९ पुस देखि काम सुरु गरेर आउँदो कात्तिक २५ गतेसम्ममा सक्नुपर्नेमा अझै काम सुरु हुन सकेको छैन । २४ करोड ७८ लाख रुपैयाँको ठेक्कामा बन्न लागेको उक्त खण्डमा अहिलेसम्म जम्मा ५५ प्रतिशत मात्रै भौतिक प्रगति छ ।

सडक अलपत्र पारेर निर्माण व्यवसायी सम्पर्कविहीन भएको स्थानीयवासीको गुनासो छ । मन्त्रालयका प्रवक्ता टीकाराम पौडेलले गत वर्ष मन्त्रालयअन्तर्गत ४६ पूर्वाधार आयोजना रुग्ण रहेकामा यो वर्ष घटेर १६ मा आइपुगेको बताए । उनले काम गर्न नसक्ने निर्माण कम्पनीको ठेक्का रद्द गरेर नयाँ प्रक्रिया थालिने उनको भनाइ थियो ।

‘कतिपय ठेक्काको धरौटी जफत गरिएको छ, केहीमा कारबाहीको प्रक्रिया पनि अगाडि बढेको छ, पटक-पटक ताकेता गर्दा पनि काममा ढिलासुस्ती गर्ने कम्पनीलाई सधैँ छुट दिन सकिँदैन’, प्रवक्ता पौडेलले भने ।

मनाङको मर्स्याङ्दी नदी पुल, गोरखाको नारेश्वर–पाणिनी–ताकुकोट सडक (दोस्रो खण्ड), तनहुँको भानुमार्ग–चन्द्रवती–पोखरीछाप–कुन्छाफेँदी जोड्ने सडक, दुलेगौँडा–हर्कपुर मार्ग, फुर्सेखोला–मट्टीखान सडक ठेक्काको धरौटी रकम जपथ गरिएको मन्त्रालयले जनाएको छ । अधिकांश आयोजना निर्माण कम्पनीकै ढिलासुस्तीका कारण अलपत्र परेको मन्त्रालयको भनाइ छ ।

भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीले रुग्ण आयोजनालाई गति दिइने बताए । ‘मन्त्रालयको वार्षिक समीक्षामा पनि यो विषयमा गम्भीर ढंगबाट छलफल भएको छ, वर्षौँसम्म काम नभएका आयोजनाको ठेक्का तोडिन्छ’, उनले भने, ‘आयोजना अलपत्र पार्ने निर्माण व्यवसायीलाई कारबाहीको दायरामा ल्याउन मन्त्रालय स्पष्ट र दृढ छ ।’