३ वर्षदेखि बागलुङेकाे ‘चैन उडाइरहेकाे’ दब्लाङकाे पहिराे

३ वर्षदेखि बागलुङेकाे ‘चैन उडाइरहेकाे’ दब्लाङकाे पहिराे


बागलुङ ।

बर्खाको समय छ । सामान्य पानी पर्नासाथ बागलुङ बजारसँग बागलुङको दक्षिण भेगको आवतजावत छुट्टिन्छ ।

निरन्तर झरिरहने दब्लाङको पहिराेले बागलुङको बलेवा, जैमिनी नगरपालिका र बरेङ गाउँपालिकालाई सडक सञ्जालसँग सम्बन्धविच्छेद गराउँदै आएको छ । ३ वर्षदेखि निरन्तर गइरहेको पहिरोको विकल्प नहुँदा यात्रुहरू यतिबेला जोखिम मोलेर सो सडकमा यात्रा गर्न बाध्य छन् ।

दक्षिण भेगमा पर्ने बागलुङ नगरपालिका–१२, १३ र १४ वडा, जैमिनी नगरपालिका र बरेङ गाउँपालिका जाने मुख्य सडकमा दैनिकजसो पहिरो खसेपछि अहिले उक्त पहिरो समाधानका लागि निरन्तर पहल भने भइरहेको छ । तर, पहिराेको विकल्पमा सडक निर्माण नहुँदा सोही पहिरोमा निरन्तर डोजर चलाउँदा झनै पहिरो गइरहेको छ । जसले राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको कालीगण्डकी करिडोरमा समेत क्षति पुर्‍याएको छ ।

दक्षिण जोड्ने सडक बारम्बार अवरुद्ध गराउने दब्लाङ एक्लेसालको पहिराेको समाधानको खोजी गरिएको छ ।  विगत ३ वर्षदेखि बर्सेनि बर्खाको सास्ती दिने बागलुङ नगरपालिका–१० भकुण्डे दब्लाङको पहिराेको अध्ययन गरी अल्पकालीन र दीर्घकालीन समाधानको खोजी भने थालिएको छ ।

पूर्वाधार विकास कार्यालय बागलुङले गत जेठको पहिलो र दोस्रो साता पहिराेको अध्ययनपश्चात् पहिरो नियन्त्रणका लागि विस्तृत अध्ययन प्रतिवेदन डिपिआरसमेत तयार गरिसकेको छ ।

प्रतिवेदनअनुसार यस पहिराेको अल्पकालीन र दीर्घकालीन दुवै उपायहरू निकाल्न खोजिएको पहिराेको समस्याका विषयमा निरन्तर पहलकदमी गरिरहेका गण्डकी प्रदेशसभा सदस्य डिल्लीराम सुवेदीको भनाइ छ ।

तत्कालका लागि पहिराेबाट सकड अवरुद्ध हुन नदिन पहिरोमाथिबाट आएको पानी काटेर नजिकैको खोल्सामा पुर्‍याउन सके पहिरो झर्ने समस्या आधा कम गर्न सकिने अध्ययन टोलीका इन्जिनियर उमेशचन्द्र भुसालले जानकारी दिए ।

उनका अनुसार अहिले पहिराेको पानी तर्काउने काम भइरहेको छ । पहिरोमाथिबाट निस्केको पानी पाइपलाइन र नाली निर्माण गरी तर्काउन सके पहिराेको समस्या आधा कम भएर जाने अध्ययन टोलीको निष्कर्ष छ ।

भुसालका अनुसार तत्कालका लागि पहिराेको माथिल्लो भागमा प्लास्टिक बिछ्याएर पानीलाई नजिकैको न्वारे खोलामा पुर्‍याएमा पहिरो बग्नबाट रोक्न सकिन्छ ।

भूगर्भविद्हरूको अध्ययन टोलीले गरेको प्रतिवेदनअनुसार पहिराेको झन्डै १३ देखि २० मिटर तलमात्र चट्टान रहेको हुँदा दीर्घकालीन उपायका लागि विभिन्न १० वटा काम एकैपटक गर्नुपर्ने देखिएको छ ।

सय मिटर लामो पहिराेले गण्डकी प्रदेशमै चर्चा छ । विज्ञहरूले पहिराेको स्थलगत अवलोकन गरी यसको जियोफिजकल (एमआरआई) गरी प्रतिवेदन तयार पारेको पूर्वाधार विकास कार्यालय बागलुङका प्रमुख इन्जिनियर गणेश सुवेदीले जानकारी दिए ।

सुवेदीका अनुसार दक्षिण भेगको टाउको दुखाइको विषय रहेको दब्लाङको पहिराेको विभिन्न तरिकाले दीर्घकालीन समाधान गर्न सकिने छ ।

‘पहिराेको भित्री भागमा पानी छैन, माथिबाट आएको पानीलाई तर्काउन सकेमा ५० प्रतिशत पहिराेको समस्या हट्छ । हामीले त्यही काम गर्न थालेका छौँ’, सुवेदीले भने, ‘पहिराेको भित्री सतहभित्र कडा चट्टानसमेत अध्ययनका क्रममा देखिन्छ, अहिलेको उपाय भनेकै पानी तर्काउनु हो । अर्को वर्षदेखि पहिरो नियन्त्रणको दीर्घकालीन काम हुन्छ ।’

पहिराेको दीर्घकालीन रूपमै समस्या समाधनका लागि विज्ञले गरेको अध्ययन तथा अवलोकनअनुसार ५ करोड ४८ लाख रुपैयाँ खर्च लाग्नेछ । आगामी वर्षमा प्रदेश, संघ र स्थनीय सरकार मिलेर विज्ञको सल्लाहअनुसार दीर्घकालीन पहिरो व्यवस्थापनका लागि बजेट विनियोजन गरिने बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले जानकारी दिए ।

पहिराेको वास्तविक समस्याको अध्ययनका निम्ति त्रिभुवन विमानस्थलमा रहेको विज्ञको टोलीलाई पूर्वाधार विकास कार्यालय बागलुङमार्फत पहिरो क्षेत्रमै पठाएर अध्ययनपश्चात् यस्तो निष्र्कष निकालिएको हो । उक्त विज्ञ टोलीले कृष्णभिरको पहिराेको समस्या समाधानका गरेका बताइएको छ ।

दक्षिण बागलुङका १८ वटा वडाका सर्वसाधारणलाई सदरमुकाम आउन याे पहिरो सधैँका लागि बाधक बनेको हुँदा यसको दीर्घकालीन उपायको खोजीबाट प्राप्त निष्कर्ष कार्यान्वयनमा लगिने बागलुङ नगरपालिका प्रमुख वसन्तकुमार श्रेष्ठले बताए ।

पहिराेले बागलुङ–कुश्मिसेरा सडकखण्ड २ स्थानमा र कालीगण्डकी करिडोर र कालीगण्डकी नदी किनार हुँदै गएको भाटेखोला जाने वैकल्पिक सडक पनि एकैसाथ अवरोध गर्दै आएको छ  । एउटा पहिराेले ४ स्थानमा सडक अवरोध गर्दा दक्षिण बागलुङ नै सडक सञ्जालसँग टुट्ने गरेकाले पहिराेको दीर्घकालीन उपाय अपनाउन थालिएको हो ।