सिन्धुलीका ८ पालिकामा आधारभूत अस्पताल भवन निर्माण सुरु

सिन्धुलीका ८ पालिकामा आधारभूत अस्पताल भवन निर्माण सुरु


सिन्धुली ।

सिन्धुलीको ८ पालिकामा आधारभूत अस्पतालका भवन निर्माण हुँदैछन् ।

सङ्घीय सरकारले २०७७ मङ्सिरमा सुरु गरेको ‘एक स्थानीय तह, एक आधारभूत अस्पताल’ निर्माण योजनाअनुरुप भवन बनाउन लागेको हो ।

मरिण गाउँपालिका–७ महेश्वतामा १५ शय्याको अस्पताल भवन निर्माणका लागि मङ्गलबार शिलान्यास गरिएको छ ।आगामी आर्थिक वर्ष २०८१/८२ को मङ्सिरसम्ममा सक्ने गरी स्काइ विल्डर्स प्रालि नयाँबानेश्वर, काठमाडौँले भवन निर्माणको जिम्मा लिएको छ ।

निर्माण कम्पनीले २०७९ पुस २५ गते अस्पताल भवन निर्माण सम्झौता गरेको थियो । रु १६ करोड ७१ लाख ५८ हजारको लागतमा निर्माण हुने भवन तीन तलाको हुनेछ । उक्त लागत बजेट सङ्घीय सरकारले उपलब्ध गराएको हो । चार हजार सात सय ४० दशमलव ८४ वर्गमिटर क्षेत्रफलमा अस्पताल निर्माण कार्य अगाडि बढेको गाउँपालिकाकाले जनाएको छ ।

सात वडा रहेको मरिणमा छ सामुदायिक स्वास्थ्य एकाइ, दुई स्वास्थ्यचौकी, एक–एक प्रथामिक स्वास्थ्य केन्द्र र आयुर्वेदिक औषधालय छन् ।

यसैगरी जग्गा विवादका कारण दुई वर्षदेखि १५ शय्याको अस्पताल भवन निर्माणको काम रोकिएको सुनकोशी गाउँपालिकामा अहिले निर्माण प्रक्रिया अगाडि बढेको छ । सात वडा रहेको सुनकोशीमा ११ स्वास्थ्य संस्था छन् । अब दुई सामुदायिक स्वास्थ्य एकाइ थप गर्नुका साथै १५ शय्याको अस्पताल भवन निर्माण सम्पन्न गरी सेवा विस्तार गरेर स्वास्थ्य सेवा प्रभावकारी बनाउन खोजिएको स्वास्थ्य इकाइ कार्यालयले जनाएको छ ।

यसैगरी गोलञ्जोर गाउँपालिकामा पनि यस वर्ष आधारभूत अस्पताल निर्माण प्रक्रिया अगाडि बढाइने भएको छ ।

फिक्कल गाउँपालिका–३ चनौटेमा १० शय्याको अस्पताल भवन निर्माणाधीन छ । दुई वर्षअघि निर्माण सुरु भएको उक्त भवनको ८० प्रतिशत काम सकिएको स्वास्थ्य शाखा प्रमुख लेखनाथ फुँयालले बताए । निर्माणको काम सम्पन्न गर्न यस वर्ष रु ९० लाख बजेट थप भएर आएको छ । ६ वडा रहेको फिक्कलमा छ स्वास्थ्यचौकी र १० सामुदायिक स्वास्थ्य एकाइ छन् ।

यसैगरी हरिहरपुरगढी गाउँपालिका–२ रतनपुरमा १५ शय्याको आधारभूत अस्पताल निर्माणाधीन छ । ८ वडा रहेको हरिहरपुरगढीमा चार स्वास्थ्यचौकी, पाँच सामुदायिक स्वास्थ्य एकाइ र चार आधारभूत केन्द्र छन् । पालिकाले आफ्ना नागरिकलाई स्थानीयस्तरमै आधारभूत स्वास्थ्य सेवा दिन १५ शय्याको अस्पताल बनाउन सुरु गरेको छ ।

दुधौली नगरपालिका–५ सिर्थौलीमा १५ शय्याको अस्पताल निर्माणाधीन छ । अस्पताल निर्माणकार्य अन्तिम चरणमा पुगेको छ । सङ्घीय सरकारको रु १६ करोड लागतमा अस्पताल निर्माण भइरहेको छ । यहाँ हाल १६ स्वास्थ्य संस्थामार्फत सेवा प्रदान गरिँदै आएको छ ।

घ्याङलेख गाउँपालिका–३ सोलाभञ्याङमा डिपिआर भएको वर्ष दिन बितिसक्दा पनि अस्पताल भवन निर्माणको काम अगाडि बढ्न सकेको छैन । जग्गा विवादका कारण रोकिएको निर्माणकार्य चाँडै सुल्झाएर निर्माण अगाडि बढाइने पालिकाले जनाएको छ । पाँच वडा रहेको दुर्गम पालिकामा पाँच स्वास्थ्यचौकी र पाँच सामुदायिक स्वास्थ्य एकाइ छन् । १५ शय्याको अस्पताल निर्माण गरेर प्रभावकारीरूपमा सञ्चालनमा ल्याइने तयारी रहेको छ ।

सिन्धुलीकै सबैभन्दा ठूलो सिन्धुली अस्पताल जिल्ला सदरमुकामसमेत रहेको कमलामाई नगरपालिकामा छ । यहाँ सात स्वस्थ्यचौकी र नौ आभारभूत स्वास्थ्य केन्द्र छन् । जिल्लामा सञ्चालनमा रहेकै अस्पताल तथा स्वास्थ्य संस्थाले पनि सहजरूपमा गुणस्तरीय सेवा दिन सकेका छैनन् । सामान्य बिरामी हुँदासमेत अन्य सहरका स्वास्थ्य संस्था तथा अस्पताल धाउनुपरेको स्थानीयवासीको गुनासो छ ।