सम्झौता भएको ३ बर्षमा पनि कालोपत्र भएन लम्की–टीकापुर सडकखण्ड

सम्झौता भएको ३ बर्षमा पनि कालोपत्र भएन लम्की–टीकापुर सडकखण्ड


धनगढी ।

पूर्व–पश्चिम राजमार्गबाट १४ किलोमिटरभित्र पर्ने लम्की–टीकापुर सडकखण्ड सम्झौता सकिँदा पनि काम सकिएको छैन ।

हुलाकी सडक आयोजना कार्यालयले यसअघि उक्त सडक कालोपत्र गरेको थियो । तर एक वर्षमै भत्कियो । सडक कालोपत्र हुँदा लम्कीबाट टीकापुर पुग्न आधी घण्टा लाग्थ्यो । तर अहिले टीकापुर पुग्न एक घन्टाभन्दा बढी लाग्ने गरेको छ ।

लम्की–टीकापुर–खक्रौरा सडकको काम समयमै सम्पन्न गर्न ३ भागमा विभाजन गरी कामको बाँडफाँड गरिएको थियो । ३ वटा निर्माण कम्पनीलाई कामको जिम्मा लगाइ पनि २ वटाको काम अधुरै छ ।

३० किलोमिटर सडकखण्ड निर्माणका लागि ३ भागमा विभाजन गरिए पनि लम्कीबाट जानकी गाउँपालिकाको पथरैयासम्मको काम मात्र सम्पन्न भएको छ । पथरैयाबाट टीकापुर नगरपालिका–४ अस्नेहरीसम्मको सडक निर्माणको जिम्मा एपेक्स कृष्ण खड्का जेभीले पाएको छ । अस्नेहरीबाट खक्रौलासम्मको बाँकी सडक निर्माणको जिम्मा रायमाझी गाल्भा जेभीले पाएको छ ।

हुलाकी राजमार्ग आयोजना कार्यालय धनगढीले कालोपत्रका लागि २०७७ जेठमा सम्झौता गरेको हो । पहिलो खण्डको ८ किलोमिटरको काम रु ४० करोड १९ लाख ९१ हजारमा कुमार कालिका जेभीले पूरा गरेको हुलाकी राजमार्ग आयोजना कार्यालयले जनाएको छ । उक्त कम्पनीले लम्की क्षेत्रको साढे ३ किलोमिटर चार लेनको सडक निर्माण सम्पन्न गरेको छ ।

दुई भागको ३५ प्रतिशत मात्र काम भएको छ । एउटा निर्माण कम्पनीले ठेक्काको जिम्मा लिएर अर्कोलाई काम गर्न लागएका कारण काममा ढिलाइ भएको हो ।

दोस्रो खण्डसडक निर्माणको सम्झौता २०७७ जेठमा भएको थियो । १० किलोमिटर सडक निर्माणका लागि रु ४० करोड ९९ लाखमा ठेक्का सम्झौता भएको थियो । चालु आर्थिक वर्षको पुससम्म समयावधि रहेको उक्त खण्डको ३५ प्रतिशत मात्र काम भएको छ । पहिलो चरणको सम्झौताको समयावधि गत वर्ष मङ्सिरमा सकिएपछि एक वर्ष म्याद थप गरिएको हो ।

तेस्रो खण्डको साढे ११ किलोमिटरको काम हुँदैछ । रु ३३ करोड २० लाख ६६ हजारमा सम्झौता गरिएको तेस्रो खण्डको पनि ३५ प्रतिशत मात्र काम पूरा भएको छ । सो कार्य आगामी पुससम्म सम्पन्न गर्नुपर्ने समयावधि छ । सम्झौताको समय सकिन ६ महिनामात्र बाँकी रहेका बेला ६५ प्रतिशत काम अझै बाँकी छ ।

टीकापुर नगरपालिकाका उपप्रमुख खडक शाहले सडकको काम समयमै सम्पन्न गर्नका लागि आयोजना कार्यालय र निर्माण कम्पनीलाई ताकेता गर्दै आएको बताए ।