भक्तपुरमा बन्यो १३ शिव मन्दिरमा पुग्ने एउटै सडक

भक्तपुरमा बन्यो १३ शिव मन्दिरमा पुग्ने एउटै सडक


भक्तपुर । 
धार्मिक पर्यटनको विकास गर्ने उद्देश्यले सूर्यविनायक नगरपालिकाले ‘शिव सर्किट’ निर्माण गरेको छ ।
‘धार्मिक पर्यटन र प्राकृतिक सौन्दर्यता, समृद्ध सूर्यविनायक नगरपालिका’ भन्ने नाराका साथ नगरपालिकाले शिव सर्किट निर्माण गरेको हो ।
नगरपालिकाका प्रमुख वासुदेव थापाले सूर्यविनायक नगरपालिकाको १ देखि १० वडासम्म रहेका प्रसिद्ध शिव मन्दिरलाई एउटै मार्गबाट जोडेर सवारीसाधन र पैदल दुबै मार्गबाट जान सकिने गरी मार्ग निर्माण गरेको बताए ।
अनन्तलिंगेश्वर र सूर्यविनायक नगरपालिकालाई मिलाएर बनेको साविक बालकोट, सिरुटार, दधिकोट, गुण्डु, कटुञ्जे, सिपाडोल, नंखेल र चित्तपोल गाविस अन्तर्गत पर्ने सूर्यविनायक नगरपालिकाको करिब १४ किलोमिटरको दूरीमा रहेका प्रसिद्ध १३ शिव मन्दिरमा पुग्न एउटै सडक प्रयोग गर्नेगरी शिव सर्किट निर्माण गरिएको हो ।
नगरपालिकाका उपप्रमुख सरिता भट्टराई तिमिल्सिनाले शिवसर्किट सञ्चालनका लागि आवश्यक तयारी पूरा भएको जानकारी दिइन् । उनले नगरपालिकाले १ देखि १० वडासम्म रहेका प्रसिद्ध शिवमन्दिरको विकास तथा व्यवस्थापन समितिका अध्यक्ष एवं पदाधिकारी, वडाअध्यक्ष र सरोकारवालासँग शिव सर्किट सञ्चालन गर्नेबारेमा छलफल सकेको बताइन् ।
यहाँका घ्याम्पेडाँडा, रानीकोट, बोकाचोगढी आफैमा एउटा प्राकृतिक भ्यूटावरमा रुपमा रहेको जनाउँदै अनन्तरलिङ्गेश्वरमा निर्माण भएको भ्यूटावर र यस क्षेत्रमा करोडौं को लगानीमा निर्माण भइरहेको होटल, होमस्टे, रानी झुला, झोलुङ्गे पुलले पर्यटकलाई आकर्षित गरिरहेको  छ ।
सूर्यविनायक नपाको वडा नं ९ र १० को सिमानामा रु एक करोड १६ लाखको लागतमा निर्माण सम्पन्न गरी हाल नगरपालिकाले सञ्चालनमा ल्याएको दुई सय ४४ मिटर लामो झोलुङ्गे पुलले पनि शिव सर्किटलाई जोड्ने भएको छ ।