विपद्का लागि राहत तथा उद्धार सामग्री चालु अवस्थामा राख्न मुख्यमन्त्री जमकट्टेलको निर्देशन

विपद्का लागि राहत तथा उद्धार सामग्री चालु अवस्थामा राख्न मुख्यमन्त्री जमकट्टेलको निर्देशन


हेटौँडा ।

वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले विपद् जोखिमको पूर्वतयारीका लागि गोदामघर सञ्चालनमा ल्याउन निर्देशन दिएका छन् ।

प्रदेश विपद् व्यवस्थापन परिषद् बैठकलाई सम्बोधन गर्दै उनले विपद् व्यवस्थापनको रकम कार्यविधि बनाएर विपद् व्यवस्थापनको रकम स्थानीय तहलाई हस्तान्तरण गरिने जानकारी दिए ।

उनले जोखिमको पहिचान भएका स्थानीय तहमा पूर्वतयारी गरिहाल्नुपर्नेसमेत बताए । उनले प्रदेश सरकार मातहत मकवानपुर, नुवाकोट र काभ्रेमा रहेको गोदाम घर (विपद्को राहत तथा उद्धार सामग्री) चालु अवस्थामा राख्न निर्देशन दिएका हुन् ।

बैठकमा मनसुनजन्य विपद्पूर्व तयारी तथा प्रतिकार्य योजना २०८०, प्रदेश विपद् कोषबाट लागत साझेदारीबापत उपलब्ध गराइएको रकम, प्रदेश विपद् व्यवस्थापन कोषको रकम खर्च गर्ने सम्बन्धमा छलफल भएको थियो ।

वाग्मती प्रदेशमा बाढी तथा पहिराबाट लगभग २२ हजार घरधुरी र ९७ हजारभन्दा बढी जनसङ्ख्या प्रभावित हुन सक्ने अनुमान प्रदेश सरकारले गरेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको विपद् पोर्टलअनुसार विगत १० वर्ष (२०६९ देखि २०७९) सम्मको तथ्यांक विश्लेषण गर्दा प्रदेशमा घटने मनसुनजन्य विपद्हरु क्रमशः बाढी, पहिरो, भारी वर्षा र महामारी रहेका छन् ।

विगत १० वर्षको तथ्या‌क अनुसार दुई सय ४३ वटा बाढीका घटनाहरुमा ९६ मानिसको मृत्यु, ३९ घाइते र ५८ जना बेपत्ता भएको देखिन्छ भने सबैभन्दा बढी मानिसको मृत्यु २०७० सालमा भएको देखिन्छ । २०७९ सालको मनसुन तथ्यांक अनुसार वाग्मती प्रदेशमा १३ बाढीका घटनाहरु भएमा दुई जनाको मृत्यु भएको छ भने नौ घर पूर्ण क्षति हुँदा ९२ लाख ७३ हजार क्षति भएको थियो ।

२०७९ सालमा भएको बाढीको घटनाको तथ्यांक अनुसार यस्को प्रभाव असारदेखि कात्तिकसम्म हुने गरेको छ । जसमध्ये साउन महिनामा सबैभन्दा धेरै प्रभावित हुने गरेको छ । वाग्मती प्रदेशमा गत वर्ष बाढीका घटना र क्षति भक्तपुर जिल्लामा सबैभन्दा बढी भएको र यसबाट ५७ लाख बराबरको क्षति भएको थियो । १३ जिल्लामध्ये प्रदेशमा बाढीका कारण मकवानपुर, सिन्धुली, सिन्धुपाल्चोक, चितवन, काठमाडौँ, रसुवा, काभ्रेपलान्चोक र रामेछाप प्रभावित हुने गरेको  छ ।