तथ्यांकमा काठमाडौं जिल्ला : जनघनत्व र जनसङ्ख्या सबैभन्दा बढी

तथ्यांकमा काठमाडौं जिल्ला : जनघनत्व र जनसङ्ख्या सबैभन्दा बढी


Vehicles plying the Ring Road at Kalanki, in Kathmandu, on Thursday, October 13, 2016. Vehicular traffic has increased with people returning to the Valley after celebrating Dashain. Photo: THT

काठमाडौं ।

राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ को प्रतिवेदनअनुसार सङ्घीय राजधानी काठमाडौँ सबैभन्दा धेरै जनसङ्ख्या र जनघनत्व भएको जिल्ला हो ।

देशका अरू जिल्लाको तुलनामा काठमाडौँमा सबैभन्दा धेरै २० लाख ४१ हजार पाँच सय ८७ जनसङ्ख्या रहेको छ । सबैभन्दा कम जनसङ्ख्या भएको जिल्ला भने मनाङ हो । मनाङको जनसङ्ख्या पाँच हजार छ सय ५८ जना छ ।

राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालको जनघनत्व प्रतिवर्ग किलोमिटर एक सय ९८ जना छ । १० वर्षअघि अर्थात् २०६८ सालको जनगणनामा जनघनत्व प्रतिवर्ग किलोमिटर एक सय ८० जना थियो । अहिले तराई क्षेत्रमा प्रतिवर्ग किलोमिटर ४ सय ६० र हिमाली क्षेत्रमा प्रतिवर्ग किलोमिटर ३४ जना जनघनत्व रहेको छ ।

जिल्लागत रुपमा भने सबैभन्दा धेरै जनघनत्व काठमाडौंमा रहेको छ । काठमाडौंमा प्रतिवर्ग किलोमिटर ५ हजार १ सय ६९ जना रहेका छन् । सबैभन्दा कम जनघनत्व मनाङमा छ । मनाङमा प्रतिवर्ग किलोमिटर ३ जना मात्रै जनघनत्व रहेको छ । काठमाडौंको जनसङ्ख्या हेर्दा १० लाख ३५ हजार ७२६ जना पुरुष र १० लाख ५ हजार ८ सय ६१ जना महिला रहेका छन् ।

काठमाडौंमा प्रतिघरधुरी औसत जनसङ्ख्या ३.७५ जना छ । यहाँको जनसङ्ख्यामा सबैभन्दा धेरै २० देखि २४ वर्ष उमेर समूहका व्यक्तिको सङ्ख्या २ लाख २६ हजार छ सय ६० जना छ ।

जुन काठमाडौं जिल्लाको कुल जनसङ्ख्याको ११ दशमलव १० प्रतिशत बराबर हो । त्यस्तै, २५ वर्षदेखि २९ वर्ष उमेर समूहको जनसङ्ख्या दुई लाख १५ हजार एक सय २० जना छ । यो जिल्लामा ९० वर्ष माथिका नौ सय ८० जना रहेका छन् । काठमाडौँ जिल्लामा मात्र ५ लाख ४२ हजार आठ सय ९२ परिवार बसोबास गर्छन् । जसमध्ये ३ लाख ६२ हजार १४७ परिवारको मूली पुरुष र १ लाख ८२ हजार सात सय २० परिवारको घरमूली महिला रहेका छन् ।

काठमाडौंमा कूल विवाहितको सङ्ख्या १७ लाख ८८ हजार ६२ जना छ । जसमध्ये विवाहित पुरुषको सङ्ख्या ८ लाख ९८ हजार तीन सय ५२ र विवाहित महिलाको सङ्ख्या आठ लाख ८९ हजार सात सय १० जना रहेको छ ।

यहाँ ४६ हजार ९६ विधवा र ९ हजार ७ सय ५५ विदुर रहेका छन् । १ हजार ३ सय ३८ जना पुरुष र दुई हजार आठ सय ४४ जना महिलाले पारपाचुके गरेर बसेको तथ्याङ्कमा उल्लेख छ ।

यो जिल्लामा ५ वर्षभन्दामाथि उमेरका ५२ हजार नौ सय ५२ जना पुरुष र एक लाख ४४ हजार तीन सय ९५ जना महिला गरी कुल एक लाख ९७ हजार तीन सय ४७ जनाले लेख्न र पढ्न सक्दैनन् । एक लाख ४९ हजार आठ सय ६ जना पुरुष र एक लाख ३४ हजार ५६ जना महिलाले प्राथमिक तहको मात्रै शिक्षा लिएका छन् ।

खाना पकाउनका लागि काठमाडौँका १० हजार २ सय ७५ परिवारले अहिले पनि दाउरा प्रयोग गर्ने गरेको देखिएको छ । त्यस्तै, ५ लाख २६ हजार नौ सय ३१ परिवारले खाना पकाउने ग्यास, ४ हजार छ सय ९४ परिवारले बिजुली, ५ सय ६१ परिवारले बायो ग्यास, एक सय ५७ परिवारले मट्टितेल र २ सय ७४ परिवारले अन्य स्रोत प्रयोग गर्छन् ।

काठमाडौंका ५ सय ७५ परिवारले शौचालय सुविधा पाउन सकेका छ्रैनन् भने १ हजार ३०५ परिवारले सार्वजनिक शौचालय प्रयोग गर्छन् । काठमाडौँ जिल्लामा १० वर्ष उमेर समूहभन्दा माथिका ३ लाख ४९ हजार २७४ जना पुरुष र ५ लाख ३ हजार २८१ जना महिला गरी ८ लाख ५२ हजार५५५ जना कुनै पनि आर्थिक कार्यमा नजोडिएको राष्ट्रिय जनगणनाको तथ्यांकले उल्लेख गरेको छ ।

पछिल्लो एक वर्षमा कुनैपनि आर्थिक आर्जनको क्रियाकलापमा नजोडिएका व्यक्तिमध्ये ३ लाख ७६ हजार ९५४ जना विद्यार्थी, १ लाख ९८ हजार ६३० जना घरायसी काममा लागेका व्यक्ति, ६३ हजार १०३ वृद्ध तथा १६ हजार ११ जना शाररिक रुपमा अशक्त छन् । ५ लाख १२ हजार चार सय २७ जना जागिरमा रहेको, ३२ हजार ३८८ जनाले अरुलाई जागिर दिइरहेको, २ लाख ८२ हजार ५५२ जनाले आफ्नो व्यवसाय सञ्चालन गरिरहेको र १ लाख ८ हजार १३ जनाले पारिपारिव व्यवसायमा सघाइरहेको उल्लेख गरिएको छ ।

१८ वर्षभन्दा मुनिका बालबालिकाको संख्या ५ लाख ८ हजार ३९९ जना रहेकोमा आमाबुबा दुवै अविभावकसँग बस्नेको संख्या ४ लाख २ हजार १७४, आमासँग मात्रै बस्नेको संख्या ५५ हजार ३ सय ६९, बुबासँग मात्रै बस्नेको सङ्ख्या ७ हजार २ सय, बुबा र सौतेनी आमासँग बस्नेको संख्या ८७७, आमा र सौतेनी बुबासँग बस्नेको संख्या २२८, अन्य नातेदारसँग बस्नेको संख्या २८ हजार३४३ र रोजगारदाताले पालनपोषण गरिरहेकाको संख्या ९७१ जना रहेको छ ।

काठमाडौंमा २ लाख ५८ हजार १३८ आवासीय प्रयोजनका, २४ हजार ४७६ वटा व्यावसायिक तथा व्यापारिक प्रयोजनका, ३ हजार १७५ वटा सरकारी, ३ हजार १२५ वटा शैक्षिक, ६६७ वटा स्वास्थ्य क्षेत्रका, ३ हजार ८९२ वटा उद्योग क्षेत्रका, ६६४ वटा बैंक तथा वित्तीय क्षेत्रका, ३ हजार २४ वटा होटल तथा लज, ४ हजार २७६ वटा भण्डारण तथा गोदाम रहेका भवन रहेका छन् ।