सिन्धुपाल्चोकका दुर्गम क्षेत्रमा दर्जन झोलुंगे पुल निर्माण

सिन्धुपाल्चोकका दुर्गम क्षेत्रमा दर्जन झोलुंगे पुल निर्माण


फाइल तस्बिर

सिन्धुपाल्चोक ।
वषैाँदेखि पुल अभावले आवतजावतमा समस्या भोगिरहेका सिन्धुपाल्चोकको दुर्गम क्षेत्रका बासिन्दाको झोलुंगे पुल निर्माण भएपछि यात्रा अवधि छोटिएको छ ।

जिल्लाको दुर्गम गाउँबस्ती जोड्न पछिल्लो समय १ दर्जन झोलुंगे पुल निर्माण गरिएको छ । इन्द्रावती गाउँपालिका–१ भिरखर्क र चौतारा साँगाचोकगढी नगरपालिका–१ को स्याउले स्थित कातर्चे गाउँ जोड्न झोलुंगे पुल निर्माण भएपछि उनीहरूको यात्रा अवधि छोटिएको हो ।

गाउँपालिकाको आर्थिक सहयोग एवं हेल्भेटास र सामुदायिक विकास तथा वातावरण संरक्षण मञ्चको प्राविधिक एवं सामाजिक सहजीकरणमा उक्त पुल निर्माण गरिएको गाउँपालिका अध्यक्ष झम्कनाथ नेपालले जानकारी दिए ।

उनका अनुसार ४९ मिटर लामो उक्त पुल रु ३२ लाख ४० हजार ६४१ मा निर्माण भएको हो । यसैगरी बाह्रबिसे नगरपालिका–९, राम्चेको चुल्ठी र घुँडे जोड्ने तीन सय ४९ मिटर लामो झोलुङ्गे पुल निर्माण भएको छ । नगर प्रमुख बालकृष्ण बस्नेतका अनुसार उक्त झोलुंगे पुल निर्माणबाट हिमाली क्षेत्रका बासिन्दालाई आवतजावतमा सहज भएको छ । उनले नगरपालिकाका नौवटै वडामा झोलुंगे पुल निर्माण गरिने जानकारी दिए ।

त्यस्तै सुनकोशी गाउँपालिका–२, तित्रेबाट काभ्रेको भुल्मु गाउँपालिका–२ जोड्ने झोलुंगे पुल निर्माण गरिएको छ । रु १ करोड ५० लाखको लागतमा निर्माण भएको उक्त पुल ३१० मिटर लामो रहेको रहेको वडा नं–२का वडाध्यक्ष विष्णु महतले जानकारी दिए ।

उनका अनुसार पुल निर्माणले घण्टौँ लगाएर आउजाउ गर्नुपर्ने यात्रा १० मिनेटमै छोटिएको छ ।

हेलम्बु गाउँपालिका–१ स्थित ङिमादावा पाङ्गणमा निर्माण भएको १७३ मिटर उचाइ र ३७० मिटर लम्बाइको झोलुङ्गे पुलले पाङगाङमा र धवागाङ गाउँलाई जोड्छ । पुल तयार भएसँगै एक गाउँबाट अर्को गाउँ पुग्न अहिले खर्चिदैँ आएको झण्डै ५ घण्टाको समय एकै घण्टामा पार गर्न सकिने गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाले जानकारी दिए ।

सडकको विकाससँगै खोला र नदीमा पक्की पुल बन्न थालेपछि जिल्लाका एक दर्जन झोलुङ्गे पुल भने ओझेलमा परेका छन् ।

पक्की पुल बनेपछि मान्छे झोलुङ्गे पुलमा हिँड्न छाड्ने र त्यसको संरक्षण पनि नगर्ने भएकाले पुलको भग्नावशेष मात्र बाँकी रहेको मेलम्चीका गणेश दुलालले बताए । त्यस्ता पुल कुनै समय मानिसका लागि यातायात र सञ्चार क्षेत्रमा बरदान सावित भएका थिए । अहिले यातायात र सञ्चारको सुविधासँगै झोलुंगे पुलको महत्व घटेको उनको भनाइ थियो ।

पहिला जिल्लाको पश्चिमी क्षेत्रका अधिकांश जनता हिँड्डुल गर्ने सिन्धुखोलाको झोलुंगे पुलको अहिले भग्नावशेष मात्र बाँकी छ । मेलम्चीमा मोटरबाटो निर्माणका साथै पक्की पुल बनेपछि यसबाट मान्छे हिँँड्न छाडेको र त्यसको संरक्षण पनि नगरिएकाले सो पुल काम नलाग्ने अवस्थामा पुगेको स्थानीयवासी पुरुषोत्तम घोरासैनीले बताए ।

तालामाराङ, खाल्डेखोला, शिखरपुरको सहरेखोलालगायत यस क्षेत्रका एक दर्जन जति पुल सडकको विस्तारसँगै उपयोगविहीन बनेका छन् ।