काठमाडौँ ।
नेपाल एसबिआई बैंकले साउन १८ गतेदेखि २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ ।
एसबिआईले १० वर्ष अवधिको ‘९ प्रतिशत नेपाल एसबिआई बैंक ऋणपत्र २०८९’ जारी गर्न लागेको हो । बैंकले प्रतिएकाइ १ हजार रुपैयाँ दरमा २० लाख एकाइ ऋणपत्र जारी गर्न लागेको हो । यसमध्ये १२ लाख एकाइ बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्ने भएको छ ।
बाँकी ८ लाख एकाइ सर्वसाधारणका लागि खुला हुनेछ । योमध्ये सामूहिक लगानी कोषलाई ५ प्रतिशत अर्थात् ४० हजार एकाइ ऋणपत्र छुट्याएको छ । यसमा वार्षिक ९ प्रतिशत ब्याज दिने बैंकले जानकारी दिएको छ । बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटलले गर्नेछ ।
यस ऋणपत्रमा साउन २२ गतेसम्म आवेदन दिन पाइनेछ । उक्त समयसम्म सबै ऋणपत्र बिक्री नभएमा भने साउन ३२ गतेसम्म खुला रहनेछ ।
न्यूनतम २५ एकाइदेखि अधिकतम ८ लाख एकाइसम्म आवेदन दिन सकिनेछ । यसमा सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर सफ्टवेयरमार्फत अनलाइनबाट आवेदन दिन सकिनेछ ।
प्रतिक्रिया