नाफा नभई सुविधालाई केन्द्रमा राखेर काम गरिरहेका छौँ : प्रशासक धिताल

नाफा नभई सुविधालाई केन्द्रमा राखेर काम गरिरहेका छौँ : प्रशासक धिताल


काठमाडौं । 

कर्मचारी सञ्चय कोषले पछिल्ला दिनमा संस्थाको सुदृढीकरण र आधुनिकीकरणमा जोड दिएको  कोषका प्रशासक जीतेन्द्र धितालले बताएका छन् ।

ढड्डाबाट सुरु भएको संस्थालाई पूर्णरुपमा डिजिटल बनाइसकेको बताउँदै उनले सेवाग्राहीलाई सहजरुपमा कसरी सेवा दिन सकिन्छ भनेर आन्तरिक सुधारका कामलाई अगाडि बढाएको बताए ।

कोषले हिसाबकिताब तथा बैंक तथा वित्तीय संस्थासँगको समन्वयको कामलाई पनि सेवाग्राहीको उपस्थितिबिना नै गर्न सकिने गरी प्रणालीगत सुधार गरेको छ ।

अहिले कोष ५ खर्ब प्लसको संस्था भएको बताउँदै उनले यही स्रोतलाई परिचालन गरेर सञ्चयकर्तालाई नयाँनयाँ केकस्ता सुविधा र योजना दिने तथा उनीहरुलाई थप विश्वस्त बनाउने भन्ने सन्दर्भमा काम गरिरहेको बताए ।

कोषले आन्तरिक सुधार,नीति, नियम, कार्यविधि तथा अन्य काममा सहजीकरण गरि यसबीचमा संस्थागत सुदृढीकरण र आन्तरिक व्यवस्थापनको काम नै विशेष प्राथमिकतामा राखेको छ ।

कोष सञ्चयकर्ताको हितमा नै रहेको बताउँदै धिताल भन्छन्  ”उहाँहरुको पैसा नै हामीले परिचालन गर्ने हो । बैंक तथा वित्तीय संस्थाले केबल नाफालाई मात्रै केन्द्रित गर्छन् । तर हामीले नाफालाई भन्दा पनि सुविधालाई बढी केन्द्रमा राखेर काम गरिरहेका छौँ  । हामीले कमाएको र प्रतिफल हासिल गरेको रकमको कूल ९० प्रतिशत बराबरको हिस्सा सञ्चयकर्ताको हितमा नै परिचालन गछौँ । त्यसैले हामीले कोषको मुनाफाभन्दा पनि सञ्चयकर्ताको हित हेर्ने हो, त्यही गरिरहेका छौँ ।”

पछिल्ला दिनमा  दुई प्रकारका सुविधालाई केन्द्रमा राखेको उनले बताए । ”सेवामा नै रहेका बेला सञ्चयकर्तालाई आर्थिकरुपमा केही सहयोग गर्न सकिन्छ कि भन्ने कोणबाट हामीले हेरिरहेका छौँ । त्यसबमोजिम सहयोग गरिरहेका पनि छौँ । बाहिरबाट हेर्दा मानिसले ऋण त हो नी भनेर बुझ्लान तर ऋण पनि त हामीले यति सरल र सहजरुपमा दिएका छौँ कि लिने र दिनेमा खासै भिन्नता राखेका छैनौँ । पछिल्ला दिनमा त सञ्चयकर्ताको निक्षेपको ब्याजभन्दा हामीले दिएको ऋणको ब्याज कम भएको अवस्था छ । बरु, बढी नै हामीले दिएका छौँ । ठूलो कोष भएकाले पनि यो सम्भव भएको हो । धेरैलाई लाभ दिन सक्नुको पछाडि व्यवस्थितरुपमा कोषको परिचालन तथा संस्थागत सुशासन पनि अर्को कारण हो ।” उनी भन्छन् ।

सामाजिक सुरक्षाका कार्यक्रममा दुर्घटनाको क्षतिपूर्ति, उपचार सहयोग, मृत्युपर्यन्त आश्रित परिवारलाई हामीले सहयोग गर्ने गरेको उनले बताए ।

‘सुत्केरी हुँदा महिला सञ्चयकर्तालाई हामीले सहयोग,औषधि उपचार शोध भर्ना कार्यक्रम पनि अगाडि बढिरहेको छ । दीर्घरोग लागेको अवस्थामा रु १० लाख र अस्पताल भर्ना भएको अवस्थामा रु एक लाख उपलब्ध गराएका छौँ । नेपाल सरकारले यो व्यवस्था सञ्चयकर्ताको श्रीमतीलाई पनि उपलब्ध गराउन गरेको आग्रहअनुसार दिनसक्ने गरेर अगाडि बढाएका छौँ । आगामी दिनमा यो सुविधा परिवारसम्म पुर्‍याउने लक्ष्य राखेका छौँ । उनी भन्छन् ।

सञ्चयकर्तालाई सामाजिक सुरक्षा प्रदान गर्ने र स्वास्थ्य शिक्षामा सहजीकरण गर्ने काममा कोष केन्द्रित भएर लागिपरेको छ ।