३० करोडको ठेक्का पाएको ‘सिटीहल’ ७ वर्षमा पनि बनेन

३० करोडको ठेक्का पाएको ‘सिटीहल’ ७ वर्षमा पनि बनेन


गोरखा ।

गोरखा सदरमुकामस्थित गोरखा नगरपालिका–७ नयाँबजारमा निर्माणाधीन सिटीहलको काम झन्डै सात वर्ष बितिसक्दासमेत अझै अपूरो छ ।

निर्माण कम्पनीले विसं २०७४ माघमा तीन वर्षभित्रमा सम्पन्न गर्ने ठेक्का सम्झौता गरेको सिटीहल निर्माणको काम अहिलेसम्म ६० प्रतिशतमात्र सम्पन्न भएको सङ्घीय आयोजना कार्यान्वयन एकाइ कास्कीका प्रमुख सुरज पौडेलले बताए ।

ठेक्का सम्झौताको चौथोपटक थपिएको म्यादसमेत सकिनै लागेको छ । यसका लागि कार्यालयले कम्पनीसँग रु ३० करोड ८० लाख ९० हजार नौ सय ३२ मा काम सक्ने गरी ठेक्का सम्झौता गरेको थियो । सम्झौताअनुसार कम्पनीले २०७७ माघ १० गतेभित्र कम्पनी काम सम्पन्न गर्नुपर्ने थियो ।

“बेसमेन्ट, फाउन्डेसन निर्माणमा भिरालो जमिनका कारण कठिनाइ भएकाले तोकेको भन्दा बढी समय लागेको र काममा ढिलाइ भएको भएको हो”, उनले भने “कोरोना सङ्क्रमण र त्यसपछि आर्थिक मन्दीसँगै सभाहलमा ट्रष्टको डिजाइन सुरुभन्दा पछि फरक पर्न जाँदा र डिजाइन परिवर्तन गर्नुपरेकाले ढिलाइ हुनपुगेको हो ।”

चौथोपटक थपिएको म्याद सकिन लागेकाले अब अन्तिम पटक म्याद थपका लागि मन्त्रालयमा पठाइएको छ ।गोरखा सदरमुकामको नयाँ बसपार्कमा झन्डै १२ रोपनी जग्गामा सिटीहल निर्माण भइरहेको छ ।

उक्त सिटीहल सात सय ६२ अट्न सक्ने क्षमताको छ ।त्यस हलमा मल्टिप्रपोज हल, बालकुने, इलोक्टोनिक रुम, गार्डरुम र शौचालय बनिसकेको छ ।

अबको एक वर्षभित्रमा सबै निर्माणको काम सम्पन्न गरी सिटीहल गोरखा नगरपालिकालाई हस्तान्तरण गर्ने गरी काम अघि बढाइएको छ । निर्माण कम्पनीलाई पेश्कीस्वरुप झन्डै रु २२ करोड भुक्तानी भइसकेको सङ्घीय आयोजन कार्यान्वयन एकाइ कास्कीले जनाएको छ ।

निर्माण कम्पनीका व्यवस्थापक श्रवणकुमार कुशवाहले सबै काम लगभग अन्तिम चरणमा रहेको र बाँकी ‘स्टक्चर’अनुसार काम भइरहेको जानकारी दिए । ‘बेस्टमेन्ट’ र ‘फाउन्डेसन’का कारण छ–सात महिनासम्म पनि काममा गति दिन नसक्दा निर्माणमा ढिलाइ भएको उनको भनाइ छ ।