काठमाडाैँ महानगरले १ वर्षमा सडकबाट उठाएकाे सामानकाे मूल्य २ कराेड !

काठमाडाैँ महानगरले १ वर्षमा सडकबाट उठाएकाे सामानकाे मूल्य २ कराेड !

अनधिकृत पार्किङबाट मात्रै पाैने २ कराेड जरिमाना असुल


काठमाडाैँ ।

काठमाडौँ महानगरपालिकाले फुटपाथबाट उठाएका सामानले महानगरको टेकुस्थित वातावरण विभागपरिसर भरिएको छ ।

गत वर्षकाे भदौदेखि महानगरले सडकपेटी र सडकमा व्यापार गर्न प्रतिबन्ध लगाएकाे हाे । अटेर गरी व्यापार गर्ने कतिलाई जरिमाना गरायाे भने कतिकाे सामान नै जफत गर्‍याे । त्यसरी १ वर्षकाे अविधमा महानगरले जरिमाना मात्रै १३ लाखभन्दा बढी उठाएकाे समाचार आजकाे नयाँ पत्रिका दैनिकमा छ ।

गत वर्षकाे साउनयता काठमाडौं महानगरले सडक, गल्लीलगायत स्थानमा फुटकर व्यवसाय गर्ने ८ हजार २०० भन्दा बढीलाई लखेटेकाे छ । उनीहरूबाट जरिवानास्वरूप १३ लाख २७ हजार रुपैयाँ राजस्व संकलन भएकाे महानगरले जनाएकाे छ ।

महानगरपालिका नगर प्रहरी बलले उपलब्ध गराएको तथ्यांकअनुसार २०७९ साउनयता महानगरले ७४६ वटा साइकल र ८०७ वटा ठेलागाडा जफत गरेको छ । जथाभावी फोहोर फाल्ने तथा सडकपेटी अतिक्रमण गर्ने ७५६ जना पक्राउ परेका छन् भने ७११ जनामाथि कारबाही भएको छ ।

महानगरले फुटपाथ तथा सडक पेटीबाट बरामद गरेका ठेलागाडा र साइकल वातावरण विभागपरिसरमा कबाड बनेर थन्किएका छन् ।

साना व्यापारीबाट जफत गरेका ठेलागाडा र साइकलको लिलाम प्रक्रिया अघि बढाएको नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए । उनका अनुसार जफत सामान अहिले चाङ लगाएर राखिएको छ ।

व्यापारीले प्रयोग गर्ने अवस्थाकै सामान नगर प्रहरीले खोसेको थियो । टेकुमा थुप्रिएका साइकल, क्रेट, ठेलागाडाको बजार मूल्य हिसाब गर्दा झन्डै २ करोड हुन आउने महानगरको राजस्व महाशाखाले जनाएको छ ।

महानगरले व्यापारीहरूबाट तरकारी, लत्ताकपडा, खाद्यान्नलगायत वस्तुसमेत बरामद गर्ने गरेको छ । व्यापारीबाट जफत गरिएका सबै सामान टेकुमै लगेर थुपार्ने गरेको छ भने बिग्रिने सामान बेच्ने गरेकाे छ  । महानगरको लिलाम समितिकी संयोजक सरिता राईका अनुसार सार्वजनिक सूचना निकालेर लिलाम गरिन्छ ।

२०७९ साउनयता नगर प्रहरीले फुटपाथ र सडक व्यापारीबाट ७४६ वटा साइकल खोसेको तथ्यांक छ भने ७०० वटा तरकारी तथा फलफूल राख्ने क्रेट बरामद गरेको छ ।

सोही अवधिमा २८ वटा आइसक्रिम बेच्ने गाडा खोसेको छ । त्यस्तै, १ हजार २०० बोरा खाद्यान्न र फलामजन्य वस्तु जफत गरेको छ । सडकमा अवरोध हुने गरी व्यापार गरेको भन्दै नगर प्रहरीले फुटपाथ व्यापारीलाई थप हर्जानासमेत तिराउने गरेको छ ।

६७ लाखको सामान लिलाम गर्दै महानगर

महानगरले टेकुमा थुप्रिएका सामान लिलामीका लागि ६७ लाख रुपैयाँको टेन्डर प्रक्रिया अघि बढाइसकेको महानगरका नगर प्रहरी निरीक्षक राजन कार्कीले जानकारी दिए ।

उनका अनुसार चैतयता जफत भएका सामान मात्रै लिलाम गर्न बाँकी छ । ‘धेरै सामान लिलाम प्रक्रियामा अघि बढिसकेको छ,’ उनले भने, ‘बाँकी सामानको पनि केही समयपछि लिलाम प्रक्रिया अघि बढ्छ ।’ उनका अनुसार महानगरले जफत गरेको सामान महानगरको लिलाम समिति, जिल्ला प्रशासन कार्यालयलगायतका प्रतिनिधि राखेर मूल्यांकन गरिन्छ ।

फोहोर फाल्ने र निर्माण सामग्री राख्नेमाथि पनि कारबाही

यसबाहेक सार्वजनिक ठाउँमा फोहोर फाल्दा, निर्माण सामग्री राख्दा वा अन्य कुनै कारणले सडक वा फुटपाथ अवरोध गर्दा महानगरले चर्को जरिमाना तिराउने गरेको छ ।

जथाभावी फोहोर फाल्नेहरूबाट २०७९ साउनयता ७३३ हजार जरिमाना तिराएको छ । यस्तै, जथाभावी निर्माण सामग्री राखेर अवरोध गर्ने ३२ जनामाथि कारबाही गरी ४ लाख ३४ हजार रुपैयाँ जरिमाना तिराएको छ ।

अनधिकृत पार्किङबाट मात्रै १ करोड ८८ लाख राजस्व

१ वर्षयता महानगरले सवारी पार्किङमा पनि कडाइ गरेको छ । अनधिकृत पार्किङबाट १ करोड ८८ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । यसबाहेक प्रशासनिक दण्ड जरिमाना, फोहोरमैला, जथाभावी निर्माण सामग्री फाल्ने, होर्डिङ बोर्ड राख्नेमाथि पनि महानगरले कारबाही गर्दै आएको छ ।