माइक्रोमिटरबाट पोलिथिनको मोटाइ नापेर कारबाही गर्दै महानगर

माइक्रोमिटरबाट पोलिथिनको मोटाइ नापेर कारबाही गर्दै महानगर


काठमाडौं ।

काठमाडौं महानगरपालिकाले पोलिथिनको अनुगमन गर्ने भएको छ । कामपाले माइक्रोमिटरबाट पोलिथिनको मोटाइ नापेर अनुगमन गर्ने भएको हो ।

महानगरका मेयर बालेन शाहले सामाजिक सञ्जालमा पोस्ट सेयर गर्दै अनुगमन गर्ने जानकारी गराए ।

उनले प्लाष्टिक निषेध कार्यक्रम महानगरबासी, वातावरण, जीव जनावरको वचावटका लागि भएको बताएका छन् ।

सामुदायिक चौपायाले खानेकुरासँगै प्लाष्टिक खाँदा पशु स्वास्थ्यमा पनि गम्भीर आघात परेको बताउँदै लेखेका छन्, ‘माटोको प्राकृतिक गुण परिवर्तन गरिदिने, जथाभावी उडेर तथा छरिएको अवस्थामा रहेर सहरी सुन्दरतामा ह्रास ल्याउँछ । सहरको सभ्यताका बिम्ब वागमती, विष्णुमती, मनोहरा, धोवीखोला, टुकुचा लगायतका नदी, राजकुलाहरु र खुल्ला स्थानहरूमा प्लाष्टिक फ्यालिएका कारण प्रदुषित बनेका छन् । सामुदायिक चौपायाले खानेकुरासँगै प्लाष्टिक खाँदा पशु स्वास्थ्यमा पनि गम्भीर आघात परेको छ ।’

यसैलाई मध्यनजर गर्दै अहिलेसम्म विग्रिएको अवस्थामा सुधार ल्याउन र बचेको अवस्थालाई संरक्षण गर्न मानव आचरण र व्यवसायिक क्रियाकलापमा सुधार गर्नुपर्ने उनको भनाइ रहेको छ ।

नागरिकको स्वच्छ वातावरणमा स्वस्थ्य भएर बाँच्न पाउने संरक्षण गर्न काठमाडौं महानगरपालिकाले ४० माइक्रोनभन्दा कम मोटाइका पोलिथिन झोला, नक्कली फूल र सवावटका बस्तु तथा सामग्री महानगरपालिकाभित्र ल्याउन, भण्डारण गर्न र विक्री गर्न प्रतिबन्ध लगाएको छ ।

यसको कार्यान्वयनका लागि वातावरण व्यवस्थापन विभाग र नगर प्रहरी बलको संयुक्त अनुगमन टोली परिचालन गर्ने बालेनले बताए ।

प्रहरीको क्षेत्रबाट ४ टोली र केन्द्रबाट एउटा टोली गरी ५ वटा टोली यसका लागि खटाइने र टोलीले माइक्रोमिटरबाट प्रयोगमा रहेका प्लाष्टिकको जाँच गर्ने उनले उल्लेख गरेका छन् ।

पोलिथिन ४० माइक्रोनभन्दा कम मोटाइका भए जफत गर्ने र प्लाष्टिकका फूल, प्लाष्टिकका सजावटका सामानचाहिँ कुनै पनि प्रयोग गर्न नपाइने समेत उनले बताएका छन् ।

उनले अनुगमनमा आउनु र जफत गर्नु अघि आयात, भण्डारण र विक्री गर्ने व्यक्ति तथा व्यापारिक संघ संस्थाले निषेधित कार्य नगर्न नगराउन अनुरोध समेत गरेका छन् ।