ठुलो आयोजनाको सभाहलमै अपांगता भएकालाई छैन ठाउँ, ह्विलचेयरसम्म जान मिल्दैन

ठुलो आयोजनाको सभाहलमै अपांगता भएकालाई छैन ठाउँ, ह्विलचेयरसम्म जान मिल्दैन


तनहुँ ।

व्यास नगरपालिका–३ मा निर्माणाधीन सभाहल अपांगतामैत्री नभएको अधिकारकर्मीले गुनासो गरेका छन् ।

जिल्लाकै ठूलो आयोजनामध्येको एक सभाहललाई अपांगतामैत्री नबनाइएको अपांगताको क्षेत्रमा काम गरिरहेका अधिकारकर्मीको भनाइ छ ।

संघीय सरकारको आर्थिक सहयोगमा निर्माणको अन्तिम चरणमा पुगेको सभाहलमा अपांगता भएका व्यक्तिलाई जानै मुस्किल रहेको अपांगता क्षेत्रमा काम गरिरहेको सहृदयी मञ्च तनहुँका अध्यक्ष सावित्री सुवेदीले बताइन् । उनले भनिन् ‘ सभाहलको कुनै पनि संरचना अपांगतामैत्री छैन, ह्वीलचियर जान मिल्दैन । हरेक सरकारी भवन अपांगतामैत्री बनाइने भनिन्छ तर व्यवहारमा कार्यान्वयन भएको छैन ।’

सभाहलको प्रवेशद्वारमा अपांगता प्रवेशका लागि र्याम्प नबनाइएको र शौचालय पनि अपांगतामैत्री नभएको उनको भनाइ छ । उनले भनिन्, ‘सरकारी बजेटबाट निर्मित संरचना नै अपांगतामैत्री नहुनु दुःखद् हो । सरकारी भवन बनाउँदा पूर्ण अपांगतामैत्री बनाउनुपर्छ ।’

अपांगताको अधिकारका लागि काम गर्ने रिसेड तनहुँका अध्यक्ष मदन पौडेल सभाहल सीमित व्यक्तिका लागि मात्रै बनेको गुनासो गरे ।

उनले भने , ‘भवनको प्रवेशद्वार नै हाम्रा लागि काँडेतार लगाएको महसुस भयो, यति ठूलो सार्वजनिक भवन त्यो पनि अहिलेको जमानामा अपांगतामैत्री नहुनु दुःखद् हो । भवनमा अपांगता भएका व्यक्तिका लागि शौचालयसमेत छैन । मूल हलमा ह्वीलचियर प्रयोग गर्ने व्यक्तिका लागि दर्शकदीर्घामा बस्ने ठाउँ छैन ।’

सरकारी भवन अपांगतामैत्री बनाउनुपर्छ भन्ने सरकारको प्रष्ट निर्देशन रहे पनि व्यवहारमा कार्यान्वयन नभएको उनको भनाइ छ ।

व्यास नगर अपांग समन्वय समितिका सदस्य ह्वीलचियर प्रयोगकर्ता कृष्णा थापाले आफूजस्ता ह्वीलचियर प्रयोगकर्ताका लागि सभाहलको संरचनाले अवरोध पुग्ने बताए । सहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन एकाइ कास्कीमार्फत निर्माण भइरहेको भवन अन्तिम चरणमा पुगेको छ । हाल भवनमा रङरोगनको काम भइरहेको छ ।

विसं २०७४ माघ २८ गतेदेखि निर्माण सुरु भएको भवन कोरोना त्रासका कारण ढिलाइ भएको थियो । विसं २०७७ असार १५ गतेभित्र सम्पन्न गर्नुपर्ने उक्त भवन कोरोनाको चपेटामा परेको थियो । भ्याटबाहेक रु २३ करोड ६२ लाख ४३ हजार तीन सय ३१ को लागतमा निर्माण भइरहेको भवन विसं २०७७ असार १५ गतेभित्र सम्पन्न गर्ने गरी काठमाडौँस्थित डाँफे-एमए-प्रतिष्ठा जेभीले ठेक्का पाएको थियो । सोही ठाउँमा रहेको पुरानो सभागृह भत्काएर विसं २०७४ माघ २८ गतेदेखि भवन निर्माण सुरु भएको थियो ।

सभाहल निर्माण सम्पन्न भएको मितिदेखि एक वर्षसम्म मर्मतसम्भारको अवधि राखिएको छ । सात सय ५० जना क्षमता भएको सभाहलको बेस ग्राउन्डमा २० कार तथा ७० मोटरसाइकल पार्किङ गर्न सकिनेछ । उक्त भवनमा मुख्य सभाहलबाहेक एक सय ५० जना क्षमताको सेमिनार हल निर्माण हुनेछ । सभाहल बाहिर फाउन्टेनसहितको विशिष्ट कक्ष (भिआइपी) पार्किङस्थलसमेत रहनेछ । सभाहल ५३ मिटर लम्बाइ, १५ उचाइ र २५ दशमलव पाँच चौडाइको हुनेछ ।

ञ्चले सभाहललाई अपांगमैत्री बनाउन माग गर्दै जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेलाई ज्ञापनपत्र बुझाएको छ । मञ्चका अध्यक्ष सुवेदीले वाग्लेलाई ज्ञापनपत्र बुझाउँदै साउन मसान्तसम्म सभाहललाई अपांगतामैत्री बनाउन ध्यानाकर्षण गराएकी हुन् ।