१२ बर्ष देखि हिलो र धुलो खान बाध्य मंगलघाट बासीन्दा

१२ बर्ष देखि हिलो र धुलो खान बाध्य मंगलघाट बासीन्दा


भक्तपुर ।

भक्तपुरको पवित्र तीर्थस्थल मंगलघाटको बिग्रिएको सडक लामो समयसम्म मर्मत नहुँदा स्थानीयवासी सास्ती भोग्न बाध्य भएका छन् ।

भक्तपुर नगरपालिका-४ स्थित यो सडक पानी पर्दा हिलो र घाम लाग्दा धुलो भरिन थालेपछि स्थानीय सास्ती भोग्न बाध्य भएका हुन् ।

“१२ वर्ष भइसक्यो बाटो निर्माण हुने कुनै संकेत छैन, वडा र नगरपालिकाले पनि चासो दिएको पाइँदैन”, स्थानीय कृष्णप्रसाद बागजुले भने, “यो सडकको अवस्था हेर्दा त स्थानीय सरकार छैन कि भन्ने लाग्छ ।”

उनका अनुसार भक्तपुरको राममन्दिरबाट बाराही स्थान निस्कने हनुमन्ते खोलाको छेउको बाटोमा वर्षायामको समयमा बाढी आउँदा पूरै डुवानमा पर्छ । साथै बाटो छेउमा भएका धार्मिकस्थल, महादेव मन्दिर, पाटी, सीताराम र सत्यनायारणको मन्दिरसमेत डुवानमा पर्दै आएका छन् ।

अहिले पनि खोलाको छेउका ब्रम्हनाल, मंगलदेव, गणेशमूर्ति र श्राद्ध गर्ने पादुका लगायतका सम्पदा माटोले पुरिएको अवस्थामा छन् । वर्सेनि यस्तो समस्या खेप्दासमेत जनप्रतिनिधिको ध्यान नपुगेको भन्दै स्थानीयले बासिन्दा आक्रोश व्यक्त गरेका छन् ।

वर्षायाममा त सवारीसाधन मात्र होइन पैदल हिँड्न पनि सास्ती छ । “सवारीसाधन जाँदा त हिलोमै फस्ने डर छ, कि त बाटो नै बन्द गर्नुपर्‍यो होइन भने सडक मर्मत गरेर राम्रोसँग स‌चालन हुनु पर्‍ यो”, उनले भने ।

यस विषयमा नगरपालिकालाई पटक–पटक जानकारी गराए पनि कुनै सुनुवाइ नभएको उनको भनाइ छ । “कहिलेकाहीँ कार्यालयबाट आउँदाजाँदा पनि आज त बचियो भन्ने अवस्था छ । पानी परे पूरै जलमग्न सबै डुबानमा पर्ने, घाम लाग्दा धुलाम्मे भएर आवतजावत गर्नै मुस्किल हुने अवस्था छ”, उनले भने, “पैदलयात्रीको पनि बिजोग नै हुन्छ ।”

स्थानीय कृष्ण अवालले बाराही मन्दिर नजिकको नवनिर्मित पुलमा समेत आवतजावत गर्न असजिलो भएको बताए । “बाराहीको पुलछेउ ठूला–ठूला ढुंगा छन् । पुलको छेउमा केही मिलाएको छैन राति आउनुपर्दा बत्ती भएन भने सिधैँ खोलामा खस्ला भन्ने डर हुन्छ । राति र वर्षामा आवतजावनमा निकै सकस छ । बाध्य भएर वैकल्पिक मार्ग प्रयोग गर्नुपरेको छ,” उनले भने ।

उनले पयर्टक घुम्ने ठाउँमा मात्र विकास गरेर नहुने भन्दै जनप्रतिनिधिले स्थानीय जनताका समस्या पनि हेर्न सुझाव दिए । “यो बाटो कर्मचारी, राजनीतिक दलका प्रतिनिधि दिनहुँ आउजाउ गर्छन् तर पनि सडकको अवस्थादेखे पनि नदेखेझै गर्छन् । भन्ने बेलामा स्थानीय सरकार सम्पदा जर्गना भन्छन् वास्ता केही गर्दैन । पर्यटक आउने ठाउँमा मात्र विकास गरेको छ अरु ठाउँमा के गरेको छ ?” अवालले भने, “चुनावको समयमा यो गर्छु त्यो गर्छु जनतालाई सहज सेवा दिन्छु भन्दा जितेपछि वास्तै नगर्ने । सडक राम्रो भए सहज हुन्छ भन्ने महसुस प्रतिनिधिले कहिले गर्ने ।”

भक्तपुर नगरपालिका-४ का वडाध्यक्ष उपेन्द्र सुवालले बजेट अभावले सडकको समस्या समधान हुन नसकेको दाबी गरे। उनले हनुमन्ते खोलाको मापदण्डअनुसार सडकको दुवै छेउमा ढुङ्गाको रिटेलिङ वाल बनाएर अगाडि बढ्ने योजना रहेको समेत जानकारी दिए ।