बागमतीका १ लाख बढी पशुमा ‘लम्पी स्किन’को संक्रमण

बागमतीका १ लाख बढी पशुमा ‘लम्पी स्किन’को संक्रमण


काठमाडौं ।

बागमती प्रदेशमा ‘लम्पी स्किन’ रोगबाट एक लाख बढी पशुचौपाया सङ्क्रमित भएका छन् ।

लम्पी स्किनको सङ्क्रमणका कारण ४ हजार छ सय १८ पशु मरेका प्रदेशस्थित पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयले जनाएको छ । निर्देशनालयका अनुसार ८ महिनामा १३ जिल्लाका १ लाख ५३ हजार ९०५ पशु सङ्क्रमित भएका छन् ।

निर्देशनालयका अधिकृत डा सविना मिश्रले गत पुसदेखि यही साउन ८ सम्म प्रदेशमा १ लाख ५३ हजार पशुचौपाया सङ्क्रमित भएका जानकारी दिइन् । उनका अनुसार सबैभन्दा बढी काभ्रेपलाञ्चोकमा ६ सय ८१ र सबैभन्दा कम ललितपुरमा ८९ पशु मरेका छन् ।

सिन्धुलीमा ६५०, धादिङमा ५१३, मकवानपुरमा ४४६, नुवाकोटमा ४११, सिन्धुपाल्चोकमा ३६०, काठमाडौँमा ३५७, भक्तपुरमा २९३, चितवनमा २४२, रामेछापमा २२९, दोलखामा १७४ र रसुवामा १७३ पशुचौपायाको मृत्यु भएको डा मिश्रले जानकारी दिइन् ।

सबैभन्दा बढी काभ्रेपलाञ्चोकमा ३० हजार ७१४ पशुमा सङ्क्रमण पुष्टि भएको निर्देशनालय कार्यालयले जनाएको छ । कार्यालयको तथ्याङ्क अनुसार सिन्धुलीमा २४ हजार ९०, धादिङमा १६ हजार ४८८, नुवाकोटमा १४ हजार ५९, रामेछापमा १४ हजार ३९१, मकवानपुरमा १० हजार ९९, सिन्धुपाल्चोक १० हजार १४८, चितवनमा १० हजार ४४, दोलाखामा ७ हजार ४५६, भक्तपुरमा ६ हजार ४१३, काठमाडौँमा ५ हजार ३७, रसुवामा १ हजार ८०७ र ललितपुरमा १ हजार ४३१ पशुचौपाया लम्पी स्किन रोगबाट सङ्क्रमित भएका छन् ।

सङ्क्रमित हुनेमा गाई १ लाख ४२ हजार ७२८, गोरु ७ हजार ४९५, भैँसी १ हजार ८६९ र बाच्छाबाच्छी १ हजार ८१३ रहेका निर्देशनालयका अधिकृत डा मिश्रले जानकारी दिइन्। उनका अनुसार गाई सबैभन्दा बढी सङ्क्रमित भएका हुन् ।

प्रदेशमा पहिलो पटक विसं २०७९ पुसमा मकवानपुरगढी गाउँपालिकाको वडा नं २, ३, ४ र ६ मा लम्पी स्किनको सङ्क्रमण देखा परेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मकवानपुरका प्रमुख डा बज्रकिशोर ठाकुरले जानकारी दिए । उनका अनुसार माघमा सिन्धुली, चैतमा दोलखा, काभ्रेपलाञ्चोक, नुवाकोट र वैशाखमा काठमाडौँ, भक्तपुर, ललितपुर, धादिङ, रामेछाप, चितवन, रसुवा र सिन्धुपाल्चोकमा देखा परेको थियो ।

प्रदेशमा पशु चौपायामा तीव्र गतिमा लम्पी स्क्रिन रोग फैलिँदै गएपछि सङ्क्रमणविरुद्धको भ्याक्सिन लगाउने कामलाई तीव्रता दिइएको केन्द्रका प्रमुख ठाकुरले बताए । रोग नियन्त्रणका लागि प्रदेशभरीका १ लाख १७ हजार ९०५ पशुलाई भ्याक्सिन लगाइसकिएको उनले जानकारी दिए । उनको अनुसार १ लाख १५ हजार ६९७ गाई र ५ हजार १०८ भैँसीलाई भ्याक्सिन लगाइएको छ ।

लम्पी स्किन रोगको सङ्क्रमण हुँदा गाईभैँसीमा अत्यधिक ज्वरो आउने, झोक्राउने, दानापानी नखाने, दुहुना गाईभैँसी भए दूध घट्ने, शरीरका विभिन्न भागमा गिर्खा आउने तथा पछि गिर्खा फुटेर अल्सर हुने, आँखामा कचेरा लाग्ने, नाकबाट सिगान बग्ने, निमोनिया हुने, थुनेलो हुनेलगायत लक्षण देखिने प्रदेशस्थित भेटेरिनरी अस्पतालले जनाएको छ ।