नारायणी नदीमा तटबन्ध बनाउन ५ अर्ब बजेट, पहिलो वर्ष नै ३५ प्रतिशत काम सम्पन्न

नारायणी नदीमा तटबन्ध बनाउन ५ अर्ब बजेट, पहिलो वर्ष नै ३५ प्रतिशत काम सम्पन्न


चितवन ।

पश्चिम चितवनवासीलाई हरेक वर्षातमा दुःख दिँदै आएको नारायणी नदीको जोखिमयुक्त ठाउँमा तटबन्धन गरिएको छ ।

बहुवर्षे आयोजनाका रुपमा तटबन्धको ठेक्का लगाइएको भए पनि बाढीको जोखिम भएको ठाउँलाई प्राथमिकतामा राखेर काम गरिएको हो ।

नारायणी नदी व्यवस्थापन आयोजनाका सूचना अधिकारी सिनियर डिभिजनल इञ्जीनीयर शंकर बुढाथोकीका अनुसार नदीको जोखिमयुक्त ठाउँलाई पहिलो प्राथमिकतामा राखेर काम गरिएको छ ।

नदीको भरतपुरतर्फको ३५ किलोमिटरमध्ये २२ किलोमिटर क्षेत्रमा अहिले तटबन्ध गरिँदै छ । अत्यन्त जोखिमपूर्ण देखिएको बाह्रघरे, गाजीपुर, हीरापुर, सिसई, भगडी, बालुवा जस्ता गतवर्षमा बाढी छिरेका ठाउँमा तटबन्ध गरिएको उनले बताए ।

विगत १० वर्षदेखि थालिए पनि बजेट अभावमा थोरै–थोरै काम हुँदै आएकामा रकमको निकासासँगै गत वर्षबाट नदी किनारका भरतपुर महानगरपालिकातर्फका अधिकांश भू–भागमा काम थालिएको हो । ५ खण्ड बनाएर काम गरिएको छ । तीमध्ये नारायणी नदी बीच मोडलको काम सम्पन्न भइसकेको छ । बुढाथोकीका अनुसार समग्रमा ३५ प्रतिशत काम सम्पन्न भएको छ । नारायणी नदीको महानगरतर्फ सिसइबाट बलुवासम्मको तटबन्धका लागि रु ३८ करोडमा ठेक्का सम्झौता भई काम भइरहेको छ ।

सो खण्डमा १५ प्रतिशत काम सम्पन्न भएको छ । ५.७ किलोमिटर उक्त खण्डको सिसइ र भगडी क्षेत्र उच्च जोखिममा छन् । बुढाथोकीका अनुसार सिसइको लगभग काम सम्पन्न भएको छ भने भगडीको अतिजोखिम ठाउँको काम भएको छ ।

गाँजीपुरबाट हीरापुरसम्मको रु ४८ करोडमा ठेक्का सम्झौता भई काम भइरहेको छ । सो खण्डको १८ प्रतिशत काम सम्पन्न भएको छ । ५ किलोमिटर लामो उक्त खण्डको गाँजीपुर र हीरापुरको बढी जोखिमपूर्ण ठाउँमा काम भएको हो ।

रामघाटबाट काभ्रेघाटसम्मको रु १ अर्ब १५ करोडमा ठेक्का सम्झौता भई काम भइरहेको छ । सो खण्डमा ३५ प्रतिशत काम सम्पन्न भएको छ । ५ किलोमिटर लामो यस खण्डको जोखिमपूर्ण मानिएको भगेरीथान र बाह्रघरेमा काम गरिसकिएको छ ।

बालुवाबाट गोलाघाटसम्मको ७ किलोमिटरमध्ये २.५ किलोमिटर नयाँ तटबन्ध र अन्य मर्मतसम्भारको काम भइरहेको छ । यसका लागि रु २३ करोडमा ठेक्का सम्झौता भएको हो । त्यसको ५५ प्रतिशत काम सम्पन्न भइसकेको छ । बालुवा क्षेत्रको काम सम्पन्न भएको छ भने गोलाघाट क्षेत्र बाँकी छ । बुढाथोकीले बढी जोखिमपूर्ण ठाउँमा काम सम्पन्न भइसकेको बताए ।

नारायणी नदी नारायणगढस्थित पुलबाट पूर्वतर्फको सिबीचको काम सम्पन्न भइसकेको छ । तटबन्ध बहुवर्षीय आयोजनाका रूपमा काम अघि बढाइएको हो । विगत १० वर्षदेखि तटबन्ध बनाउन थालिए पनि बजेट अभावमा काम हुन नसकेको नारायणी नदी तटबन्धमा एकैपटक रु ५ अर्बको काम अघि बढाइएको हो । यसमध्ये भरतपुर र नवलपरासी दुवैतर्फ यस बजेटबाट काम हुँदैछ ।

आर्थिक वर्ष २०६६/६७ बाट निरन्तर काम भइरहे पनि हालसम्म रु १ अर्ब ८३ करोडमात्र विनियोजन हुँदा काम प्रभावकारी हुन सकेको थिएन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले नारायणी नदी तटीय क्षेत्रमा निरीक्षण पश्चात् यसवर्ष बाढीको जोखिम कम हुने बताइन् । तटबन्धका सबै क्षेत्रमा स्थलगत निरीक्षणपछि उनले स्थानीयलाई यो वर्षातमा केही जोखिम रहे पनि आउँदो वर्षबाट ढुक्क हुन सकिने बताइन् ।

तटबन्ध गरी पश्चिम चितवनलाई सुरक्षित गराउन सम्बन्धित निकायमा निरन्तर लागिपरेकै कारण काम भएको उनको भनाइ छ । उनले तटबन्धको गुरुयोजना निर्माणदेखि महानगरको सक्रिय भूमिका रहेको जनाउँदै तत्कालीन समयमा यसै क्षेत्रबाट निर्वाचित हालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सहयोगले काम भएको बताइन् ।

तीन वर्षको ठेक्का भए पनि पहिलो वर्ष नै ३५ प्रतिशत काम सम्पन्न भइसकेकाले निर्धारित समयमै काम सम्पन्न हुनेमा ढुक्क रहन उनले आग्रह गरीन् । नदी तटीय क्षेत्रलाई पर्यटकीय मार्ग बनाउने महानगरको योजना छ ।

हाल तटबन्ध पश्चात् हरियालीसमेत बनाइँदै छ । महानगर प्रमुख दाहाल तटबन्धको क्षेत्रमा पुग्दा सम्बन्धित वडाका वडाध्यक्ष सहित स्थानीयले खुसी व्यक्त गरेका थिए । गएका वर्षमा वर्षात्को समयमा नदी तटीय क्षेत्रका बासिन्दा रातको समयमा सुत्न पाउँदैनथे । स्थानीय घरायसी सामग्री र बालबालिका बोकेर विद्यालयमा शरण लिन पुग्ने गर्दथे । यसवर्ष बाढी आइनसके पनि अब आउने बाढीले दुःख कम दिने अपेक्षा गरिएको छ ।