महानगर भन्छ-सेवा लिन जाँदा पार्किङ्ग शुल्क लिए तत्काल फोन गर्नु

महानगर भन्छ-सेवा लिन जाँदा पार्किङ्ग शुल्क लिए तत्काल फोन गर्नु


काठमाडौं ।

व्यावसायिक भवनहरुले सेवाग्राहीबाट पार्किङ्ग शुल्क लिए तत्काल गुनासो गर्न काठमाडौं महानगरपालिकाले सम्पर्क अधिकारीका रुपमा नगर प्रहरी निरीक्षक धर्म भण्डारीलाई तोकेको छ ।

आर्थिक ऐन २०८० ले सेवाग्राहीबाट पार्किङ्ग  शुल्क लिन नपाउने भनेर तोकिएका स्थानबाट शुल्क लिएको गुनासो आएपछि त्यस्ता गुनासालाई तत्काल सुनुवाई गर्न सम्पर्क अधिकारी तोकिएको महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी उपरीक्षक राजुनाथ पाण्डेले जानकारी दिए ।

उनले सेवा लिएका ठाउँबाट पार्किङ्ग शुल्क लिए तत्काल ९८५१० ५१६१० मा सम्पर्क गर्न अनुरोध गरेका छन् ।

काठमाडौं महानगरपालिकाको आर्थिक ऐन २०८० ले निजी मार्ट, रेष्टुरेन्ट, सपिङ् कम्प्लेक्स, अस्पताललगायत स्वास्थ्य सेवा प्रदायक संस्थाहरुले सेवाग्राहीबाट सवारी पार्किङ् गरेवापत शुल्क लिन नपाउने व्यवस्था गरेको छ ।

ऐनका व्यवस्था कार्यान्वयन गर्न गराउन अनुरोध गर्दै महानगरले सार्वजनिक सूचना प्रकाशित गरिसकेको छ । व्यवस्था कार्यान्वयन गराउन नगर प्रहरीको टोली त्यस्ता ठाउँमा पुगेर जानकारी गराउने गरेका छन् ।

यति हुँदा पनि कतिपय सेवाग्राहीले शुल्क तिर्नु परेको गुनासो आइरहेपछि महानगरले सम्पर्क अधिकारीमार्फत गुनासो सुन्ने प्रबन्ध मिलाएको हो ।

सार्वजनिक सडकहरुमा सवारी साधन पार्किङ्ग सञ्चालन गर्न अनुमति दिइने छैन । ऐनले निजी भवन वा जग्गामा पार्किङ व्यवसाय सञ्चालन गर्ने व्यक्ति वा संस्थाले महानगरपालिकाबाट पूर्वअनुमति लिनु पर्ने व्यवस्था गरेको छ ।

महानगरपालिकाले अन्य सम्भावित क्षेत्र पहिचान गरेर पैदल मार्ग (फुटपाथ) बाहेक सवारी आवागमनमा अवरोध नहुने गरी नगर कार्यपालिकाले मापदण्ड तोकेर पार्किङ्ग सुविधा उपलब्ध गराउन सक्ने ऐनमा व्यवस्था गरिएको छ ।

पार्किङ्ग क्षेत्रमा अनिवार्य रुपमा महानगरपालिकाले दिएको स्वीकृत पार्किङ्ग संकेत वा चिन्ह प्रयोग गरेर सूचना पाटी राख्नु पर्नेछ । सूचना पाटीमा पार्किङ्ग दर्ता नम्बर, पार्किङ्ग सम्बन्धी विवरण र शुल्क उल्लेख भएको हुनु पर्नेछ । पार्किङ्ग शुल्क उठाउँदा डिजिटल प्रणालीबाट अनिवार्य विलिङ्ग गर्नु पर्नेछ । यसको विवरण नियमित रुपमा महानगरपालिकामा पेश गर्नु पर्नेछ ।