काठमाडौं ।
साउन १२ गतेसम्म देशभर ७७ प्रतिशत रोपाइँ सम्पन्न भएको कृषि सूचना तथा प्रशिक्षण केन्द्रले जनाएको छ ।
गत वर्ष यही समय अर्थात् साउन १२ गतेसम्म ९० प्रतिशत धान रोपाइँ सम्पन्न भएको केन्द्रका प्रमुख प्रकाशकुमार सञ्जेलले जानकारी दिए ।
देशभर १३ लाख ५७ हजार आठ सय १६ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने गरेको छ । जसमध्ये हालसम्म १० लाख ५३ हजार चार सय चार हेक्टर क्षेत्रफलमा मात्र धान रोपाइँ सकिएको केन्द्रले जनाएको छ ।
यस वर्ष कोशी प्रदेशमा ८४ प्रतिशत भूभागमा धान रोपाइँ भएको छ । सो प्रदेशमा गत वर्ष यही समयमा ८८ प्रतिशत भूभागमा धान रोपाइँ सम्पन्न भएको थियो । कोशी प्रदेशमा २ लाख ७५ हजार १३३ हेक्टर क्षेत्रफल जमिनमा धान रोपाइँ हुने गरेकामा हालसम्म २ लाख ३१ हजार ११२ हेक्टर क्षेत्रफलमा मात्र धान रोपिएको केन्द्रले जनाएको छ ।
मधेस प्रदेशमा हालसम्म ५९ प्रतिशत भूभागमा मात्र धान रोपाइँ सकिएको छ । गत वर्ष यही समयमा सो प्रदेशमा ८९ प्रतिशत भूभागमा धान रोपाइँ सकिएको थियो । मधेस प्रदेशमा ३ लाख ५४ हजार ३८३ हेक्टर क्षेत्रफलमा धान रोपाइँ गरिन्छ । हालसम्म सो प्रदेशमा २ लाख ९८६ हेक्टर क्षेत्रफलमा मात्र धान रोपाइँ सकिएको छ ।
बागमती प्रदेशमा हालसम्म ७२ प्रतिशत क्षेत्रफलमा मात्र धान रोपाइँ सकिएको छ । गत वर्ष साउन १२ गतेसम्म बागमती प्रदेशमा ९३ प्रतिशत रोपाइँ सकिएको थियो । यो प्रदेशमा १ लाख १३ हजार ८३ हेक्टर क्षेत्रफलमा धान रोपाइँ गरिन्छ । यसमध्ये हालसम्म ८१ हजार ४२० हेक्वटर क्षेत्रफलमा मात्र धान रोपाइँ गरिएको छ ।
गण्डकी प्रदेशमा हालसम्म ८२ प्रतिशत भूभागमा धान रोपाइँ सकिएको छ । गत वर्ष साउन १२ गतेसम्म यो प्रदेशमा ९६ प्रतिशत भूभागमा रोपाइँ सकिएको थियो । गण्डकी प्रदेशमा १ लाख ४ हजार ६२२ हेक्टर क्षेत्रफलमा धान रोपाइँ गरिन्छ । जसमध्ये हालसम्म ८५ हजार ७९० हेक्टर क्षेत्रफलमा मात्र धान रोपाइँ गरिएको छ ।
लुम्बिनी प्रदेशमा ८१ प्रतिशत भूभागमा धान रोपाइँ सकिएको छ । सो प्रदेशमा गत वर्ष यही समयमा ८५ प्रतिशत धान रोपाइँ सकिएको थियो । लुम्बिनी प्रदेशमा ३ लाख ३९२ हेक्टर क्षेत्रफलमा धान रोपाइँ गरिन्छ । जसमध्ये हालसम्म २ लाख ४३ हजार तीन सय १८ हेक्टर क्षेत्रफलमा मात्र धान रोपाइँ सकिएको छ ।
कर्णाली प्रदेशमा हालसम्म ८५ प्रतिशत भूभागमा धान रोपाइँ सकिएको केन्द्रका प्रमुख सञ्जेलले बताउनुभयो । गत वर्ष यही समयमा सो प्रदेशमा ७८ प्रतिशतमात्र रोपाइँ भएको थियो । कर्णाली प्रदेशमा ३८ हजार ७२७ हेक्टर क्षेत्रफलमा धान रोपाइँ गरिन्छ । सो प्रदेशमा हालसम्म ३२ हजार ९१८ हेक्टर क्षेत्रफलमा धान रोपाइँ सकिएको छ ।
सुदूरपश्चिम प्रदेशमा हालसम्म ९९ प्रतिशत धान रोपाइँ सकिएको छ । सो प्रदेशमा गत वर्ष पनि यही समयमा ९९ प्रतिशत नै रोपाइँ सकिएको थियो । सुदूरपश्चिम प्रदेशमा १ लाख ७१ हजार ४७६ हेक्टर क्षेत्रफलमा रोपाइँ गरिन्छ । सो प्रदेशमा हालसम्म १ लाख ६९ हजार १६१ हेक्टर क्षेत्रफलमा धान रोपाइँ सम्पन्न भएको केन्द्रले जनाएको छ ।
प्रतिक्रिया