दाङ ।
विकासका पूर्वाधारबाट पछि परेको जिल्लाको पश्चिमी क्षेत्रमा एकै पटक ९ वटा पुल निर्माण हुने भएका छन् ।
आर्थिक वर्ष २०८०/८१ मा पुल निर्माणका लागि ८ करोड रकम विनियोजन गरिएको छ ।
लुम्बिनी प्रदेश सरकारका अर्थमन्त्री धनबहादुर मास्कीले चालु आवका लागि जिल्लामा नौ वटा पुल निर्माण गर्ने योजनासहित बजेट विनियोजना गरिएको जानकारी दिए । उनका अनुसार रिम, तिनतले र भाँगाबार खोलामा बेलीबृज निर्माणका लागि ५० लाखका दरले बजेट विनियोजन गरिएको छ ।
ट्वाङखोलामा डिपिआरसहित पक्की पुल निर्माणका लागि १ करोड ५० लाख, पुरन्धारा हुँदै मलै जाने सडकअन्तर्गत बबई नदीमा डिपिआरका लागि १५ लाख तथा बखरीया–सरुवाडाँडा–गोल्टाकुरी–कालितारा सडकमा पुल निर्माणका लागि १ करोड २५ लाख बजेट छुट्याएको मन्त्री मास्कीले जानकारी दिए ।
उनका अनुसार तुलसीपुर–हापुर जोड्ने सडकअन्तर्गत तुलसीपुर–१ भमके खोलामा पुल निर्माणका लागि १ करोड, शान्तिनगर–३ पातेटाकुरा खोलाका लागि ७५ लाख, बौलाखोला माथिल्लो बाटोमा पक्कीपुल निर्माणका लागि १ करोड र बबई गाउँपालिकाअन्तर्गत राजीखरे खोलाका लागि ७५ लाख बजेट विनियोजन भएको छ ।
दाङको कर्णालीका रुपमा चिनिने गङ्गटे सडकअन्तर्गत हापुरे–गङ्गटे खण्डका विभिन्न खोलामा तीन पुल निर्माण हुन लागेका छन् । यसअघि यस खण्डमा पुल नहुँदा वर्षात्का समयमा आवतजावत ठप्प हुने गरेको थियो ।
प्रतिक्रिया