अव्यवस्थित बसोबास गर्ने ७ सय ८३ लाई जग्गाधनी पुर्जा वितरण

अव्यवस्थित बसोबास गर्ने ७ सय ८३ लाई जग्गाधनी पुर्जा वितरण


पाल्पा ।

रामपुर नगरपालिका अव्यवस्थित बसोबासीका लागि जग्गाधनी प्रमाण पुर्जा वितरणको काम सम्पन्न गरेको छ ।

नगरपालिकाभित्र ७०२ घरघडेरीको जग्गाधनी प्रमाण पुर्जा वितरण भएको छ ।

तत्कालीन समयमा रामपुर गाउँ पञ्चायत, गाउँ विकास समिति, रामतुलसी मावि, दरैठाँटी मावि, आधारभूत मावि, नवदुर्गा मावि, सहिद बहुमुखी क्याम्पसलगायतका शैक्षिक सङ्घसंस्थाले विद्यालय तथा क्याम्पस सञ्चालनका लागि घरघडेरी बिक्री गरेका हुन् ।

सो संस्थाले बिक्री गरेका घरघडेरीको सोमबार ८७ जग्गाधनी प्रमाण पुर्जा वितरण गरिएसँगै अव्यवस्थित बसोबासीलाई पुर्जा वितरणको काम रामपुरमा सम्पन्न भएको छ ।

नगरभित्रका ७८३ मध्ये पहिलो चरणमा २०७९ पुस ८ गते १६४, दोस्रो चरणमा माघ १० गते ९८, तेस्रो चरणमा २०८० जेठ ५ गते ३५४, साउन १५ गते ८७ घरघडेरीलाई पुर्जा वितरण गरिएको छ । ५ दशकअघिदेखिको समस्याका रूपमा रहेको अव्यवस्थित घरघडेरीलाई निकै चुनौतीका बाबजुद जग्गाधनी प्रमाण पुर्जा दिन सफल भएको रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले बताएका छन् । नगरपालिकाका वडा नं ५, ६ र ७ का सात सय ८३ घरघडेरीमध्ये ९७ प्रतिशत काम सम्पन्न भई प्रमाण पुर्जा प्रदान गरिएको उनको जानकारी दिए ।

राष्ट्रिय भूमि आयोग पाल्पाका अध्यक्ष मोहनलाल गैरे र रामपुर नगरपालिकाका प्रमुख थापाले मालपोत तथा नापी कार्यालय रामपुरलाई जग्गाधनी प्रमाण पुर्जाको सोमबार नक्सा, श्रेस्ता हस्तान्तरण गरेका छन् । एक सय १४ रोपनी ११ आना बराबरको घरघडेरीवापत रु ११ करोड ७७ लाख ९३ हजार बराबरको राजस्व नेपाल सरकारको खातामा जग्मा भएको छ ।

हातमा प्रमाण पुर्जा नहुँदा आफूले दुःखले बनाएको घरघडेरी आफ्नो हो भन्ने ढुक्क नहुनु र पुर्जा बैंक तथा वित्तीय संस्थामा राखेर विभिन्न व्यापार–व्यावसायका लागि ऋण निकाल्न पाउँदा स्थानीयले निकै सास्ती भोग्नुपरेको थियो । पुर्जा पाएपछि यहाँका स्थानीय खुसी छन् । विसं २०२५र२६ देखि तत्कालीन गाउँ विकास समिति, स्कुल, क्याम्पसले रसिदको भरमा बिक्री गरेका घरघडेरीले जग्गाधनी पुर्जा नपाउँदा स्थानीयले धेरै चुनौती खेप्दै आइरहेका थिए । लामो समयपश्चात् रामपुर नगर सरकार र राष्ट्रिय भूमि आयोग जिल्ला समिति पाल्पा, राजनीतिक दल, सरोकारवालाको जोडबलमा जग्गाधनी प्रमाण पुर्जा वितरणको काम भएको हो ।

अहिलेसम्म राष्ट्रिय भूमि आयोगले देशका ७७ जिल्लामध्ये जग्गाधनी प्रमाण पुर्जा वितरण भएको आँकडा हेर्ने हो भने दुई हजार चार सय बढी नागरिकले जग्गाधनी प्रमाण पुर्जा प्राप्त गरेका छन् । रामपुर नगरपालिकाभित्र सात सय दुई जग्गाधनीले आफ्नो घर तथा घडेरीको पुर्जा प्राप्त गर्न सफल भएका छन् ।