बौद्ध स्तुप क्षेत्रको सडक बनाउन महानगरको छैन चासो, हिलो र धुलो खादै स्थानीय

बौद्ध स्तुप क्षेत्रको सडक बनाउन महानगरको छैन चासो, हिलो र धुलो खादै स्थानीय


काठमाडौं ।

विश्व सम्पदा सूचीमा सूचीकृत बौद्धनाथ क्षेत्रको अमिताभ बुद्ध मार्गको कालोपत्र भत्किएको लामो समयसम्म पनि मर्मत हुन सकेको छैन ।

सडक मर्मत नहुँदा स्थानीय हिलो र धुलोको सास्ती भोग्न बाध्य छन् ।

काठमाडौँ महानगरपालिकाको ठेक्कामार्फत उक्त सडक कालेपत्र गरिए पनि ३ महिनामै भत्किएको थियो ।

कालोपत्र भत्किएपछि मर्मतको जिम्मा निर्माण कम्पनीको भए पनि हालसम्म काम हुन नसकेको बौद्धनाथ क्षेत्र विकास समितिका पूर्वकार्यकारी निर्देशक नयनकुमार लामाले बताए।

बौद्ध क्षेत्रको टुसालबाट महांकाल र सम्पदा मार्गहुँदै बौद्ध चैत्य पुग्न सकिने सडक २०७८ जेठमा कालोपत्र भएको थियो । “गुणस्तरीय काम नहुँदा लामो समयदेखि स्थानीयले दुःख पाएको अवस्था छ”, उनले भने, “सडक मर्मतका लागि समितिले विगतमा ३ पटक बजेट बिनियोजन गरे पनि काठमाडौँ महानगरपालिकाले नै गर्ने भनेकाले सडकको जिम्मा महानगरलाई नै दिइएको हो ।”

कालोपत्र हुनुभन्दा १ वर्षअघि भने यो सडक समितिकै बजेटबाट मर्मत गरिएको थियो । विश्व सम्पदा क्षेत्रमा लामो समयदेखि सडक बिग्रिएको अवस्थाले पर्यटकहरुमा राम्रो सन्देश नजाने स्थानीय व्यवसायी मंगलकुमार श्रेष्ठ बताउछन् । जसका कारण स्थानीयवासी, पर्यटक र बौद्धनाथ चैत्यमा दर्शनका लागि आउने भक्तजनले वर्षामा हिलो र हिउँदमा धुलोको सास्ती भोग्नु परेको उनको भनाइ छ ।

स्थानीय श्रीकृष्ण शाही सडक निर्माणमा कमसल सामग्री प्रयोग गरेकाले लामो समयसम्म नटिकेको दाबी गर्छन् । न्यून गुणस्तरको काम हुँदा पनि सरोकारवाला निकायको ध्यान जान नसकेको उनको भनाइ छ ।

उक्त सडक काठमाडौँ महानगरपालिकाको ९ करोड लागतमा कालोपत्र गरिएको थियो । काठमाडौँ महानगरपालिका–६ का पूर्वअध्यक्ष दीपेन्द्रकुमार लामा निर्माण व्यवसायीले कमसल काम गरेकाले सडकको कालोपत्र तीन महिना पनि नटिकेको दाबी गछर्न । उनले महानगरपालिकामा यसबारे जानकारी गराउँदै भुक्तानी रोक्न समेत आग्रह गरेको बताए ।

पाँच तारे होटल हायात रिजेन्सीको पूर्वोत्तरको पर्खालसँगै जोडिएको उक्त सडकको दुरावस्थाले राम्रो सन्देश नदिने महानगरपालिका–६ का वडा अध्यक्ष भुवन लामा बताउछन् । उनले यसबारेमा महानगरपालिकाको कार्यपालिका बैठकमा विषय उठान गर्ने बताए ।

“बौद्ध क्षेत्रकै विकासका लागि भनी पर्यटकसँग शुल्क उठाइन्छ । त्यो शुल्क समितिको खातामा बैंकमा खर्च हुन नसकी थुप्रिएको छ । तर सडकको दूरावस्थाले विश्व सम्पदा क्षेत्रलाई नै गिज्याइरहेको छ”, उनले भने ।