गड्यौला मल उत्पादनमा कृषि ज्ञान केन्द्रको ७५ प्रतिशत सहयोग

गड्यौला मल उत्पादनमा कृषि ज्ञान केन्द्रको ७५ प्रतिशत सहयोग


भोजपुर ।

रासायनिक मलको प्रयोग घटाउँदै प्रांगारिक खेतीमा जोड दिन यहाँका किसान गड्यौला मल उत्पादनमा जुटेका छन् ।

यहाँका दुईवटा कृषक समूहका ४० घरपरिवारले गड्यौला मलको व्यावसायिक उत्पादन थालेका हुन् ।

कृषि ज्ञान केन्द्रले किसानलाई अनुदान सहयोग उपलब्ध गराएर गड्यौला मल उत्पादनमा लाग्न प्रोत्साहित गरेको छ । कार्यालयको सहयोगमा भोजपुर नगरपालिका–१२ टक्सारको न्यू जिम्पु कृषक समूहका २० परिवार र वडा नं ५ बोखिममा रहेको पार्टी खोला कृषक समूहका २० गरी ४० परिवारले गड्यौला मल उत्पादन गरिरहेका छन् । उनीहरुलाई ७५ प्रतिशत अनुदानमा गड्यौला मल उत्पादनका लागि आवश्यक सहयोग गरिएको केन्द्रको भनाइ छ ।

रासायनिक मलको प्रयोगलाई न्यूनीकरण गर्दै प्रांगारिक बस्तु उत्पादनमा प्रोत्साहन गर्न गड्यौला मल उत्पादन तथा प्रांगारिक मल सुधार कार्यक्रम सञ्चालनमा ल्याइएको केन्द्रका प्रमुख गणेश खत्री बताउछन् । गड्यौला मलको प्रयोगले माटोको उर्वराशक्ति बढाउने भएकाले कृषकलाई यो मलको उत्पादनसँगै प्रयोगमा जोड दिएको उनको भनाइ छ ।

४० कृषकले यो मलको उत्पादन थालेका छन् । यो मलको धेरै फाइदा भएकाले किसानलाई जानकारी दिँदै मल उत्पादनमा प्रोत्साहन गर्दै आएको उनले बताए ।

गाई–भैँसीको मलमूत्रसँगै सड्ने झारपात प्रयोग गरेर गड्यौला मल तयार गरिने हुँदा अन्नबालीका लागि धेरै उपयोगी हुन्छ । यो प्रविधिबाट मल बनाउँदा गड्यौला पाल्नका लागि संरचना निर्माण गरेर त्यहाँ गड्यौला राखिन्छ । गड्यौला राखेको ठाउँमा पशु चौपायाको मललाई राखी दिएपछि त्यसलाई उनीहरुले आफ्नो आहाराका रुपमा खाएर दिसा गर्ने र त्यसैलाई मलको रुपमा प्रयोग गरिन्छ ।

यो प्रविधिबाट मल उत्पादन गर्दा पशु चौपायाको मलसँगै झारपात प्रयोग गरिन्छ । गड्यौलाले खाएर गरेको दिसालाई मलका रुपमा प्रयोग गर्ने हो । यो मल वातावरणीय हिसाबले पनि निकै उपयोगी हुन्छ। यसले माटोको उर्वराशक्ति वृद्धि गराउँछ ।

गड्यौला मलको प्रयोगले प्रांगारिक उत्पादनमा सहयोग पुग्ने किसानहरुको भनाइ छ । माटोलाई सन्तुलनमा राख्न र विषादीरहित उत्पादनका लागि गड्यौला मल लाभदायक रहेको छ । गड्यौला मल उत्पादनका लागि ज्ञान केन्द्रले २ कृषक समूहलाई रु २० लाख सहयोग गरिएको जनाएको छ । १ किसानले ५० हजार बराबरको गड्यौला पाल्न भर्मी बेड निर्माण गरेर गड्यौला मल उत्पादन गर्न थालेको छ ।

राम्रो ढंगले गड्यौला पाल्न सकेमा वर्षमा तीन पटकसम्म मल निकाल्न सकिने कार्यालयले जनाएको छ । एकवटा भर्मी बेडबाट औसतमा नौ मेट्रिक टनसम्म मल उत्पादन हुने कार्यालयका अधिकृत विशाल राईको भनाइ छ । सरदरमा एक भर्मी बेडबाट नौ मेट्रिक टनसम्म मल उत्पादन गर्न सकिन्छ ।