नापतौलमा ठगी गर्ने १९ हजार व्यापारीलाई कारबाही

नापतौलमा ठगी गर्ने १९ हजार व्यापारीलाई कारबाही


काठमाडौं ।

नेपाल गुणस्तर तथा नापतौल विभागले देशभर अनियमित नापतौल तथा नाप्ने तौलने यन्त्र प्रयोग गरी ठगी गर्ने १९ हजार १४ व्यापारीलाई कारबाही गरेको छ ।

विभागले आर्थिक वर्ष २०७९/८० को अवधिमा ठगी गरेको आरोपमा उनीहरुलाई कारबाही गरेको हो ।

विभागका महानिर्देशक दिनानाथ मिश्रका अनुसार पछिल्लो समय नापतौल यन्त्रमार्फत उपभोक्ता ठगी गर्ने क्रम बढेकाले विभागले विशेष निगरानी बढाइएको छ । “अनुगमनका क्रममा कतिपय व्यापारीले यन्त्रको दर्ता नगराएको र दर्ता गरेका व्यापारीले पनि नवीकरण नगरेको पाइएको छ,” महानिर्देशक मिश्रले भने। विभागले समयमा अनुमतिपत्र नलिएका, जाँच नगराएका, नामसारी नगराएका र नापतौलमा घटिबढी गरेका व्यापारीलाई कारबाही गरेको हो ।

सबैभन्दा धेरै काठमाडौँ कार्यालयले कारबाही गरेको छ । काठमाडौँ कार्यालयले काठमाडौँ, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा, धादिङ, नुवाकोट र रसुवामा नापतौलको अनुगमन तथा गल्ती गर्नेलाई कारबाही गर्दै आएको छ ।

गत आवमा काठमाडौँमा मात्र ११ हजार चार सय ९१ व्यापारी कारबाहीमा परेका छन् । यस्तै, पोखरामा दुई हजार एक सय ८९, बुटवलमा १ हजार २४४, नेपालगञ्जमा १ हजार ४७९, सुर्खेतमा पाँच सय एक तथा धनगढीमा एक हजार २६ व्यापारी कारबाहीमा परेका छन् ।

यस्तै, सिलगढीमा २०२ , वीरगञ्जमा १ हजार ४ सय ३६, जनकपुरमा ७२५, विराटनगरमा २ हजार ४०६ र झापामा १ हजार ३३४ व्यापारी कारबाही गरिएको विभागका प्रवक्ता ज्योति जोशी भट्टले जानकारी दिए । गुणस्तर र नापतौलका नाममा उपभोक्तालाई ठगी गर्ने जोकोहीलाई पनि कारबाहीको दायरामा ल्याइने उनी बताउछन् ।

“जानीजानी सेवाग्राहीलाई ठगी गर्ने क्रम बढेकाले कारबाही तीव्र पारेका छौँ,” प्रवक्ता भट्टा भन्छन् । नियतवश आम उपभोक्तालाई ठगी गर्ने जोकोहीलाई पनि कारबाहीको दायरामा ल्याइने उनको भनाइ छ । विभागले देशभर नापतौलका लागि नयाँ इजाजत तथा प्रमाणपत्र दिने, इजाजत नलिएका व्यापारीलाई कारबाही गर्ने, ट्याक्सीको जाँच गर्नेलगायतका कामबाट ७ करोड १६ लाख राजस्व स‌कलन गरेको छ ।