५ केजी नुन लिन ५ हजार रुपैयाँ र नागरिकताको फोटोकपी !

५ केजी नुन लिन ५ हजार रुपैयाँ र नागरिकताको फोटोकपी !


मुगु ।

देशको राजधानी काठमाडौंमा अहिले सुनको चर्चा छ । तर दूरदराजको मुगुमा भने चर्चा नुनको छ । मुगुमा ५ के.जी नुन पाउन एक व्यक्तिले ५ सयदेखि ५ हजार रुपैयाँ सम्म खर्च गर्नु पर्ने अवस्था आएपछि दुर्गममा सिंहदरबार व्यवहारमा पुग्न नसकेको नुनकै अभावले पुष्टि गरेको छ ।

नुन लिन नागरिकताको फोटोकपी बुझाउनु पर्ने

मुगु जिल्लामा रहेको एक नगरपालिका र ३ गाउँपालिकालाई लक्षित गरी आर्थिक बर्ष २०८९/०८० का लागि ३ हजार ३ सय ९० क्वीन्टल नुन जिल्लामा आए पनि हिजो आज नुनको अभाव हुन थालेको छ । हप्ताको ३ दिन नुन कार्यालय खुल्ला गरी सोरु र खत्याडको प्रशासनको सिफारिसमा स्थानीय नागरिकलाई नागरिताको फोटोकफी र हातको नङ्गमा रेजा लगाएर प्रति ब्याक्ति ५ के.जी नुन दिने गरिएको छ ।

अनुदानको सरकारी नुन खान नपाएको ५ ÷ ६ बर्ष भएको र नजिकको स्थानीय बजारमा सरकारी अनुदानको ९ रुपैयाँले पाउने १ केजी नुन ६० देखि ८० रुपैयाँसम्म रुपैया तिरेर खानु पर्ने बाध्यता रहेको स्थानीयको गुनासो छ ।

३ दिन लगाएर गाउँबाट आउँदा नुन महंगो बन्यो

मुगमु कामारोङ्ग गाउँपालिका ५ मुगुकी सोनामफुटी लामा २÷३ दिन लगाएर ५ केजी नुन लिन सदरमुकाम गमगढी आवतजावत गर्दा गाडी भाडा र खान ५ हजार भन्दा बढी खर्च हुने गरेको दुखेसो पोख्छिन । सिंहदरबारको अधिकार गाँउ गाँउ आयो भनेर प्रचार गरिएको छ तर उनी भने कहाँ आयो भन्दै गाउँमा आएको सिंहदरबार देखाइदिन आग्रह गर्छिन ।

५ केजी नुन पशु चौपायालाई खुवाउनु कि आफु खानु
नुनको अभावको गुनासो गर्दै छायाँनाथ रारा नगरपालिका वडा नम्बर ८ बस्ने बिसुकला रावत भन्छिन ‘ नुन लिन आउँदा १५ ÷ १६ सय रुपैया खर्च हुन्छ, ५ के.जी नुन पाईयो घरमा गाई गोरु भेडा बाख्रा भैसी छन । आफु खानेकी पशु चौपायालाई खुवाउने ५ पोका नुन लिनको लागि पनि नागरिकताको फोटोकपी गर्न १० रुपैया तिरीयो हातको नङ्गमा चिन्ह समेत लगाउँदा रहेछन दुःख बढी नुन कम पाइयो । ’

अनुदानको नुन सस्तो हुँदा जिल्ला बाहिर गएको हुन सक्ने आशंका
सोरु र खत्याड गाँउपालिकालाई १ / १ हजार क्वीन्टल नुन वितरण गरिसकेको र छायाँनाथ रारा नगरपालिका र मुगम कामारोङ्ग गाउँपालिकालाई १ हजार ३ सय ९० क्वीन्टल नुन वितरण भइसकेको मुगुका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर थापा बताउछन् ।

अनुदानमा आएको नुन प्रति केजी ९ रुपैयाँ पर्दा सस्तो भएको हुँदा सबैको भीड सदरमुकाम हुने र बाहिरी जिल्ला बाँके र सुर्खेत सम्म जाने गुनासो आएपछि प्रहरी मार्फत चेकजाँच र निगरानी समेत बढाएको प्रजिअ थापाले बताए । तर मुगुमा नुनको अभाव भने नरहेको पनि उनको भनाइ थियो ।

यता जिल्ला साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडले मुगुमा अहिले ३ सय ५० क्वीन्टल नुन मौज्दात रहेको बताए । मुगु जिल्लामा नुनको अभाव प्रत्येक बर्ष हुने गरेको छ । जिल्लामा रहेका राजनीतिक दल ,जनप्रतिनिधि र जिल्लामा रहेका सरोकारवालाहरुको केन्द्रमा पहुँच नहुँदा हरेक बर्ष मुगु लगाएत कर्णालीका सबै जिल्लामा नुन अभाव हुने गरेको छ ।