नगर अस्पतालमा स्वास्थ्य बीमाको सेवा सुरु

नगर अस्पतालमा स्वास्थ्य बीमाको सेवा सुरु


बर्दिया ।

ठाकुरबाबा नगरपालिकाद्वारा सञ्चालित आधारभूत नगर अस्पतालमा स्वास्थ्य बीमाको प्रथम सेवा बिन्दु उद्घाटन भएको छ ।

नगर प्रमुख तिलकराम लम्सालले ज्येष्ठ नागरिक टोप बहादुर अधिकारीलाई बीमा पर्चा प्रदान गरी स्वास्थ्य बीमा सेवाको उद्घाटन गरेका हुन् । सेवा शुभारम्भ गर्दै नगर प्रमुख लम्सालले स्वास्थ्य बीमाको सेवालाई झन्झटरहित र सहज बनाउँदै स्थानीयस्तरमा नै गुणस्तरीय सेवा प्रदान गरिने बताए ।

ठाकुरबाबा नगरपालिकाले जेठ १७ गते स्वास्थ्य बीमा बोर्डसँग स्वास्थ्य बीमा ऐन २०७४, स्वास्थ्य बीमा नियमावली २०७५ अनुसार सेवा प्रदान सम्बन्धी सम्झौता गरेको थियो ।

बीमा सेवा प्राप्त गर्न सहज होस भनि आधारभूत नगर अस्पतालमा सेवा सुरु गरिएको नगर उपप्रमुख बिना कुमारी भट्टराईले जानकारी दिईन् ।

बीमा कार्यक्रम लागु भएपछि नगरवासीले आधारभूत नगर अस्पतालमा ल्याब परीक्षण, भिडियो एक्सरे, एक्सरे र १ सय ३३ थरीका औषधि पाउने छन् ।

यसबाहेक आधारभूत नगर अस्पतालमा उपलब्ध नभएका सिटी स्क्यान, एमआरआई, शल्यक्रिया लगायतका सेवाका लागि अन्य अस्पतालमा रिफर हुने भएकाले सेवा पाउन सहज हुनेछ ।

नगर अस्पतालमा बीमा कार्यक्रम लागु हुँदा ठूला अस्पतालमा बीमा सेवाका लागि हुने चाप घट्ने र स्थानीयस्तरमा उपलब्ध हुने सेवाका लागि टाढा जानुपर्ने बाध्यता हट्ने पनि उपप्रमुख भट्टराईको भनाई छ ।