दोलखा पहिरो अपडेट : १ जनाको शव भेटियो, ३ जना अझै बेपत्ता

दोलखा पहिरो अपडेट : १ जनाको शव भेटियो, ३ जना अझै बेपत्ता


दोलखा ।

दोलखाको गौरीशंकर गाउँपालिका–८ सल्लेमा पहिरोले घर बगाउँदा वेपत्ता भएका एक मध्ये एक जनाको शव फेला परेको छ ।

दोलखाको गौरीशंकर गाउँपालिका– ७ र ८ को सिमानामा गएको पहिरोमा पुरिएर बेपत्ता भएका मध्ये गौरीशंकर–७ का तीन वर्षीय प्रिन्स थामीको शव फेला परेको गौरीशंकर–७ का वडाध्यक्ष सोनाम शेर्पाले जानकारी दिए ।

पहिरोमा पुरिएका सोही स्थानका कृष्ण मगर, उनीकी श्रीमती देव मगर र हरिलाल श्रेष्ठ भने बेपत्ता छन् । उनीहरूको खोजी भइरहेको छ । घाइते ३ जनाको उद्धार गरिएको छ ।

बिहीबार राती वर्षाको कारण बस्तीमा पसेको पहिरोले सो क्षति गराएको दोलखाका सूचना अधिकारी औलाख बहादुर आलेले जानकारी दिए । पहिरोले ७ घर पूर्ण रूपमा क्षति भएका छन् भने गौरीशंकर ७ र ८ का २० घर बढी पहिरोको उच्च जोखिममा छन् ।

घट्टेखोलाको झोलुंगे पुलमा समेत बाढीले क्षति पुर्‍याएको छ । सुरक्षाकर्मी अहिलेसम्म सो स्थानमा पुग्न सकेका छैनन् ।