किंङ्स कलेज र नामीले एआईसम्बन्धी शैक्षिक कार्यक्रम संचालन गर्ने

किंङ्स कलेज र नामीले एआईसम्बन्धी शैक्षिक कार्यक्रम संचालन गर्ने


काठमाडौं ।

किंङ्स कलेज तथा नेपाल अप्लाइड म्याथमेटिक्स् एण्ड इन्फरमेटिक्स् इन्स्टिट्युट फर रिसर्च (नामी) ले नेपालमा पहिलो पटक आर्टिफिसियल इन्टिलीजेन्स्सम्बन्धी औपचारिक शैक्षिक पाठ्यक्रमलाई कार्यान्वयनमा ल्याउने घोषणा गरेका छन् ।

पछिल्लो समय सूचना प्रविधीको अध्ययन–अध्यापनलाई प्राथमिकता दिएको किंङ्स कलेज र बैज्ञानिक अनुसन्धान केन्द्र, नामीले बिहीबार एक साझेदारी सम्झौतामा हस्ताक्षर गर्दै ६ महिने परिक्षणात्मक तालिम कक्षा संचालन गर्ने जनाएका हुन् ।

दुई संस्थाको सहकार्यमा भविष्यमा आर्टिफिसियल इन्टिलीजेन्स्सम्बन्धी विशिष्ठ तथा एकिकृत पाठ्यक्रमको विकास गरी स्नातक तथा स्नातकोत्तर तहको शिक्षण कार्यक्रम संचालन गर्ने बताइएको छ ।

सूरुवाती चरणमा सूचना प्रविधी तथा इञ्जिनियरिंग विधामा काम गरिरहेकाहरुलाई लक्षित गरेता पनि पछि विधार्थी तथा आर्टिफिसियल इन्टिलीजेन्स् क्षेत्रमा रुची राख्ने जोकसैले पनि यस शिक्षण कार्यक्रममा सहभागी हुन पाउने कलेजले जानकारी दिएको छ । तथापी यस कार्यक्रममा सहभागी हुन चाहनेहरुले पाइथन प्रोग्रामिंग चलाउन जानेको हुनुपर्ने छ ।

कलेजले शिक्षालाई परंपरागत चारकोठे शिकाइ प्रणालीको रुपमा मात्र सिमित नराखी आधुनिक समाजमा देखापरिरहेको चुनौतीको सम्बोधन गर्न, नयाँ अवसरहरुबाट लाभ लिन र आधुनिक चालचलन तथा प्रबृत्तीहरुलाई अंगीकार गरी समाज तथा राष्ट्रको विकासमा टेवा पुर्‍याउन सक्षम नागरिकको श्रृजना गर्न विभिन्न पहल तथा परियोजनाहरु संचालन गरिरहेको अर्यालले जनाकारी दिए ।

यसका साथै विद्यार्थीहरुले आर्टिफिसियल इन्टिलीजेन्स्को क्षेत्रमा रोजगारीका साथसाथै ब्यवसायमा पनि सफलता हासिल गर्न सकुन् भन्ने यस कार्यक्रमको अभिप्राय रहेको छ ।

विश्वब्यापी क्षेत्रमा आर्टिफिसियल इन्टिलीजेन्स्को तीब्र विकास भैरहेको परिप्रेक्षमा नेपालमा पनि यस क्षेत्रप्रति आममानिसको चासो र रुची बढिरहेको यथार्थलाई ध्यानमा राखी यस विषयबारे प्राज्ञिक शिक्षा प्रदान गरी आवश्यक जनशक्ति तयार गर्ने उदेश्यका साथ शैक्षिक कार्यक्रम संचालन गर्न लागिएको नामीका सहसंस्थापक तथा निर्देशक डा. विशेष खनालले जानकारी दिए ।