तनहुँमा १५ मध्ये ९ वटा पक्की पुल निर्माण सम्पन्न

तनहुँमा १५ मध्ये ९ वटा पक्की पुल निर्माण सम्पन्न


तनहुँ ।

आर्थिक वर्ष २०७९/८० र ०८०/०८१ मा तनहुँमा ९ पक्की पुल निर्माण सम्पन्न भएका छन् ।

कूल १५ निर्माणाधीन पुलमध्ये ९ पुलको निर्माण सम्पन्न भएका हुन् ।

पूर्वाधार विकास कार्यालय तनहुँकी सूचना अधिकारी इञ्जिनियर धनमाया मिश्रले निर्माणाधीन ३ पुल यस चालु आर्थिक वर्षमा क्रमागतरुपमा सरिआएको छ ।

जिल्लाको घिरिङ–४ मा तिरम्दी खोला पुल ३ करोड २४ लाखको लागतमा निर्माण सम्पन्न गरिएको छ । यसको लम्बाइ २५ मिटर रहेको छ ।

त्यसैगरी, ऋषिङको वडा नं ४ र ५ जोड्ने ज्वाला खोलामा २५ मिटर लम्बाइको पुल निर्माण सम्पन्न भएको छ । यसको लागत ३ करोड २१ लाख रहेको छ ।

घिरिङ–१ को द्रौपद खोलामा २० मिटर लम्बाइको पुल ३ करोड २४ लाखको लागतमा सम्पन्न भएको छ । त्यसैगरी शुक्लागण्डकी–११ र भीमाद–९ जोड्ने जरेबरमा ३२ दशमलव ४ लम्बाइको पुल निर्माण सम्पन्न भएको छ ।

३ करोड ४३ लाखको लागतमा उक्त पुल निर्माण सम्पन्न भएको पूर्वाधार विकास कार्यालयका प्रमुख दिनेशकुमार घिमिरेले जानकारी दिए ।

यसैगरी शुक्लागण्डकी–११ र भीमाद–८ जोड्ने क्याङ्दी खोलामा ७४.५५ मिटर लामो पुल निर्माण सम्पन्न भएको छ । ९ करोड ३९ लाखको लागतमा उक्त पुल निर्माण सम्पन्न गरेको हो ।

व्यास नगरपालिका–८ स्थित रिस्ती खोला पुल बगुवामा ५२ मिटरको पुल ४ करोड २ लाख र सोही वडाको रिस्ती खोला पुल सोतीबेंसीमा ४० मिटर लम्बाइको ४ करोड ३७ लाखको लागतमा निर्माण सम्पन्न गरेको छ ।

त्यसैगरी भीमाद–५ र ऋषिङ–८ जोड्ने फेदीखोलमा २५ मिटर लम्बाइको पुल ३ करोड ४६ लाखको लागतमा पुल निर्माण कार्य सम्पन्न भएको छ । जिल्लाको भीमाद–३ स्थित बुढुवा खोलामा १९.८ मिटर लम्बाइको पुल २ करोड चार लाखको लागतमा सम्पन्न भएको सो कार्यालयले जनाएको छ ।