पातले छाँगामा वार्षिक ३ करोडभन्दा बढी रकम संकलन, व्यवस्थापनमा महानगरले देखायो चासो

पातले छाँगामा वार्षिक ३ करोडभन्दा बढी रकम संकलन, व्यवस्थापनमा महानगरले देखायो चासो


पोखरा । पर्यटकीय नगरी पोखराको ‘डेभिज फल्स’ले परिचित पातले छाँगो पोखरा पुग्ने अधिकांश पर्यटकका लागि ‘बकेट लिस्ट’को गन्तव्य हो ।

फेवाताल पुग्ने आन्तरिक तथा बाह्य पर्यटकमध्ये त्यहाँ नपुग्ने सायदै हुन्छन् ।

पोखरा–१७ मा अवस्थित पातले छाँगो पर्यटकका लागि पर्यटकीय गन्तव्य मात्रै भए पनि यो त्यतिमा मात्रै सीमित छैन । पर्यटकबाट हुने मुख्य आम्दानी यसको संरक्षण र विकासका साथै छोरेपाटन माध्यमिक विद्यालय सञ्चालनमा खर्च हुने गरेको छ ।

पातले छाँगाको कुल आम्दानीमध्ये ४० प्रतिशत व्यवस्थापनका लागि खर्च हुने गरेको छ भने बाँकी ६० प्रतिशत विद्यालयका शिक्षकको तलब, शैक्षिक तथा भौतिक विकासका लागि खर्च हुने गरेको छोरेपाटन मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वद्रीनाथ पहारीको भनाइ छ ।

पातले छाँगामा प्रवेश शुल्कबाट हाल मासिक २५ लाख विद्यालयमा निजी स्रोतबाट नियुक्त भएका शिक्षक र कर्मचारीमा खर्च हुने गरेको छ । विद्यालयका प्रधानाध्यापक डिल्लीराम भुसालका अनुसार ११२ शिक्षक तथा कर्मचारी रहेको विद्यालयमा ३० जना शिक्षक मात्रै सरकारी दरबन्दीका छन् । बाँकी सबै ७० शिक्षक तथा कर्मचारी निजी स्रोतबाट राखिएको छ । जसको खर्च पातले छाँगाको आम्दानीबाट हुँदै आएको छ ।

भुसालका अनुसार पातले छाँगामा प्रवेश शुल्कवापत वार्षिक ३ करोडभन्दा बढी संकलन हुन्छ भने सटर भाडावापत वार्षिक १ करोड ५० लाख आम्दानी हुने गरेको छ । विद्यालयका शिक्षक तथा कर्मचारीलाई तलब खुवाएपछि बचत भएको रकम छाँगाको संरक्षण तथा सम्बद्र्धनका लागि विकासमा खर्च हुने गरेको छ ।

विसं २०३५ देखि उक्त सामुदायिक विद्यालयले पाताले छाँगो अवलोकन गर्ने पर्यटकबाट प्रवेश शुल्क उठाउँदै आएको छ ।यहाँ कक्षा १ देखि ८ सम्म निःशुल्क अध्यापन हुन्छ भने कक्षा ९ र १० का लागि मासिक १ सय लिने गरिएको छ ।

गएको ४० वर्षदेखि यसैगरी विद्यालयको व्यवस्थापनमा सघाउँदै आएको पातले छाँगाको आम्दानीमा अहिले आएर पोखरा महानरपालिकाको आँखा लागेको छ । महानगरले आफ्नो मातहतमा ल्याएर निजी क्षेत्रलाई पातले छाँगो ठेक्का दिने योजना बनाएकाले विद्यालय व्यवस्थापनलाई पातले छाँगाको व्यवस्थापन छाड्न दबाब दिँदै आएको छ ।

कूल १२ रोपनी क्षेत्रफलमा फैलिएको यस पर्यटकीयस्थलमा आन्तरिकका साथै भारतीय र चिनियाँ पर्यटकको अत्यधिक चाप हुने गरेको पातले छाँगोमा टिकट काउन्टरका प्रमुख सुरेन्द्र सापकोटाले बताए । उनका अनुसार असोज र कात्तिकमा पर्यटकको चाप बढी हुन्छ ।

यहाँ पर्यटकका लागि विद्यार्थीका लागि छुटसहित २०, नेपाली नागरिकका लागि ४०, भारतीयलाई ८० र तेस्रो मुलुकका नागरिकलाई १ सय प्रवेश शुल्क लिने गरिएको छ ।

पोखरा –१७ छोरेपाटनस्थित पातले छाँगोले वर्षादको समयमा पर्यटकलाई झनै लोभ्याउने गर्छ । जमिनको सतहभन्दा तल अर्को पर्यटकीय स्थल गुप्तेश्वर गुफातर्फ झर्ने यो छाँगोलाई गुफाको भित्री भागबाट समेत देख्न सकिन्छ ।

हिमाली दृश्य, गुफा, तालतलैया, सांस्कृतिक र प्राकृतिक सम्पदाले पोखरा स्वदेशी तथा विदेशी पर्यटकका लागि आकर्षक गन्तव्य हो । पातले छाँगो र गुप्तेश्वर गुफा नजिकै पुम्दीमा शान्ति स्तुप र हालै ठूलो आकारको शिव मूर्ति निर्माणसँगै त्यस क्षेत्रमा पुग्ने पर्यटक पनि यहाँ आउने गरेका छन् ।