अस्पतालको लुट धन्दा : स्वास्थ्य बीमाको औषधि लिँदा दोहोरो शुल्क तिर्नुपर्ने

अस्पतालको लुट धन्दा : स्वास्थ्य बीमाको औषधि लिँदा दोहोरो शुल्क तिर्नुपर्ने


रामेछाप ।

रामेछापका विरामीले स्वास्थ्य बीमाको औषधि लिँदा दोहोरो शुल्क तिर्नु परेको छ ।

जिल्लाको मन्थली अस्पतालबाट स्वास्थ्य बीमाको औषधि लिने बिरामीले दोहोरो शुल्क तिर्नु परेको गुनासो गरेका छन् ।

मन्थली अस्पतालले जाँच गरेका बिरामीले अस्पतालकै फार्मेसीबाट सबै औषधि नपाउँदा त्यहाँ नपाउने औषधि लिन तामाकोशी अस्पतालको फार्मेसीमा जानु पर्दछ । सो फार्मेसीले पुनः नाम दर्ता गरेर औषधि किन्न जाने बिरामीसँग फार्मेसीले दोहोरो शुल्क लिने गरेको छ ।

‘स्वास्थ्य परीक्षण गर्न जाने बिरामीले नाम लेखाउँदा मन्थली अस्पतालमा स्वास्थ्य बीमा कोषबाट २ सय रुपैँया तिर्नु पर्छ, त्यहाँ डाक्टरले लेखिदिएको औषधि तामाकोशी अस्पतालमा जाँदा पुनः नाम लेखाएर थप २ सय रुपैँया तिर्नुपर्छ, एउटा औषधि लिन नागरिकले ४ सय रुपैँया नाम लेखाउँदा शुल्क मात्रै तिर्नुपर्छ’, गैरसरकारी संस्था महासंघका अध्यक्ष समेत रहनुभएका सामाजिक अभियन्ता रत्नप्रसाद कँडेलले भने ।

स्वास्थ्य बीमाको एक सय रुपैँयाँको औषधि लिन पनि बिरामीको ४ सय रुपैँया खर्च हुने सेवाग्राहीको गुनासो छ । ‘बिमाको सबै औषधि मन्थली अस्पतालको फार्मेसीमा छैन, त्यहाँ नभएको औषधि किन्न तामाकोशी अस्पतालको फार्मेसीमा जानु पर्छ, त्यहाँ जाने बित्तिकै थप २ सय रुपैँया काट्छ, जतिको औषधि किन्नु परे पनि ४ सय रपैँया तिर्नु पर्यो, त्यो ५० रुपैँयाकै औषधि किन नहोस्, अझ टेम्पोमा आउन जान थप १ सय रुपैँया त अलग्गै छ’, मन्थलीका नागरिक अगुवा वीरेन्द्र श्रेष्ठको भनाइ छ ।

मन्थली नगरपालिका स्वास्थ्य शाखा प्रमुख केशव फुयाँल पनि नागरिकले दोहोरो शुल्क तिर्नु परेको स्वीकार्छन् । ‘त्यसैलाई अन्त्य गर्न अस्पतालमा नै फार्मेसीमा औषधि बढाउँदै छौँ, सबै औषधि ल्याउन नसकेको कारण बिरामीलाई उता पठाउनु परेको छ, समस्याको समाधान भनेको अस्पतालकै फार्मेसीबाट सबै औषधि दिनु हो’, उनले भने ।