टमाटरको मूल्य २ सय रुपैयाँ

टमाटरको मूल्य २ सय रुपैयाँ


दाङ ।
दाङमा टमाटरको मूल्य २ सय रुपैयाँ पुगेको छ।

केही दिनदेखि उकालो लागेको टमाटरको भाउ आकाशिएको हो ।

टमाटर बाहेक अन्य सबै तरकारीको भाउ यथावत् छ। बजारमा २ सय रुपैयाँमा कारोबार भइरहेको टमाटर तुलसीपुर सब्जीमण्डीमा भने १८० मा बिक्री भइरहेको छ।

भारतीय व्यापारी आएर टमाटर सोझै उतै लैजान थालेपछि दाङमा टमाटरको मूल्य बढेको हो ।

यता नेपालको टमाटर भारत पुग्न थालेपछि किसान हरु उत्साहित भएका छन् । तुलसीपुर तरकारी तथा फलफूल व्यवसायी संघका अध्यक्ष माधवप्रसाद घिमिरेका अनुसार तुलसीपुरमा दैनिक ३ सय क्यारेट टमाटर खपत हुने गरे पनि मूल्य बढेपछि उपभोक्ताले थोरै किन्न थालेका छन्।

तुलसीपुरमा सल्यान र रोल्पाबाट मात्र टमाटर आउने गरेको छ। सल्यानबाट तुलसीपुर आउने मूल प्रवेशद्वार कपुरकोटमै मंगलबार टमाटर केजीको १४० देखि १५५ रुपैयाँसम्म किसानले बेचेका थिए। कपुरकोटमा हाटबजार सञ्चालन हुन लागेयताकै यो हालसम्मकै उच्च मूल्य स्थानीय किसानले पाएका छन्।