भरतपुर महानगरपालिका र चीनको सिगात्से सहरबीच सहयोग आदानप्रदान

भरतपुर महानगरपालिका र चीनको सिगात्से सहरबीच सहयोग आदानप्रदान


चितवन ।

भरतपुर महानगरपालिका र चीनको सिगात्से सहर सहरबीच एकापसमा सहयोग आदानप्रदान गर्ने २ पक्षीय सहमति भएको छ । ती २ सहरका बीचमा भगिनी सम्बन्ध कायम रहेको छ ।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल र सिगात्से सहर मेयर वाड्ग फड्ग हुड्ग बीच २ पक्षीय सहमति भएको हो । २ सहरबीच एकापसमा सहयोग आदनप्रदान गर्दै यहाँका जनताको बीचमा सुमधुर सम्बन्ध कायम गर्दै अगाडि बढ्ने सहमति भएको जनाइएको छ ।

हिमाली सहर सिगात्सेको निमन्त्रणामा सिगात्से पुगेको भरतपुर महानगरपालिकाको प्रतिनिधिमण्डलबीच प्रविधि आदानप्रदान, कृषि र पर्यटनको क्षेत्रमा सँगसँगै अगाडि बढ्दै भगिनी सम्बन्धलाई जनस्तरसम्म विस्तार गर्नुे दुवै सहरका प्रमुखबीच सहमति भएको हो ।

सो अवसरमा भरतपुर महानगरपालिका प्रमुख दाहालले भरतपुर महानगरपालिका पूर्वाधार विकासका साथै कृषि, पर्यटन र स्वास्थ्य सेवाको क्षेत्रमा अगाडि बढिरहेको जनाउँदै सिगात्से सरकार र यहाँका व्यवसायीलाई नेपालको भरतपुरमा लगानी गर्न आग्रह गरिन् ।

सो अवसरमा प्रमुख दाहालले सन् २०२४ लाई भरतपुर महानगरपालिकाले भरतपुर भ्रमण वर्षको रूपमा विशेष कार्यक्रम गरी मनाउन लागेको जनाउँदै भरतपुर भ्रमण वर्षमा सहभागि हुन सिगात्से सहरका मेयर हुड्ग सहित उनको टिम र सिगात्सेवासीलाई निमन्त्रणा गरेकी थिइन् ।