झापा कारागारमा झडप,कैदीबन्दीले गरे आगजनी

झापा कारागारमा झडप,कैदीबन्दीले गरे आगजनी


झापा ।

झापा कारागारको हुलदंगा नियन्त्रणमा आइसकेको छ ।

आज दिउँसो असन्तुष्ट कैदीबन्दीले गरेको आगजनी र ढुंगामुढा एक घण्टापछि नियन्त्रणमा आएको प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले बताए ।

मनोज लावती नामका कैदीबन्दीलाई चन्द्रगढी कारागारबाट सुनसरीको झुम्का कारागारमा सरुवा गर्न लाग्दा असन्तुष्ट कैदीबन्दीको समूहले कारागारभित्र आगजनी गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले बताए ।

उनका अनुसार अपराह्न ३ बजेतिर कैदी लावतीलाई कारागार प्रशासनले झुम्का लैजान कारागारबाट बाहिर निकाल्नासाथ कैदीबन्दीले नारा जुलुस र ढुंगामुढा सुरु गरेका थिए । कारागारभित्र उनीहरुले आगजनी गर्दा धुँवाको मुस्लो फैलिएको थियो ।

प्रमुख जिल्ला अधिकारी पोखरेलले कारागारभित्रको स्थिति एक घण्टाभित्रै नियन्त्रण भएको बताए ।

आगो निभाउन मेचीनगर, भद्रपुर र बिर्तामोडको दमकल कारागार पुगेका थिए । असन्तुष्ट कैदीबन्दीले भित्रबाट कारागार परिसरमा ढुंगामुढा गरेका कारण एक घण्टासम्म प्रहरीलाई समेत भित्र जान दिएका थिएनन् ।

प्रजिअ पोखरेलले घटनामा कुनै मानवीय क्षति नभएको बताए । कैदीबन्दीले हुलदङ्गा मच्चाएपछि स्थानीय प्रशासनले कर्तव्य ज्यानका कैदी मनोज लावतीलाई कारागारभित्रै पठाएको छ । उनीभित्र गएपछि कैदीबन्दीले ढुंगामुढा बन्द गरेका हुन् ।