लोपोन्मुख समुदायको निःशुल्क स्वास्थ्य बिमा, ५ करोड बजेट बिनियोजन

लोपोन्मुख समुदायको निःशुल्क स्वास्थ्य बिमा, ५ करोड बजेट बिनियोजन


हेटौँडा ।

बागमती प्रदेश सरकारले प्रदेशका १३ जिल्लाका लोपोन्मुख तथा पछाडि परेका समुदायको निःशुल्क स्वास्थ्य बिमा गराउने प्रक्रिया सुरु गरेको छ ।

उक्त कार्यक्रमका लागि बागमती प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि ५ करोड २५ लाख बजेट बिनियोजन गरेको छ ।

स्वास्थ्य मन्त्रालयले सीमान्तकृत लोपोन्मुख, आश्रममा आश्रित, अपांगता (क) र (ख) वर्ग भएका व्यक्तिहरुको निःशुल्क स्वास्थ्य बिमा गर्न लागेको बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालयका प्रवक्ता दीपकप्रसाद तिवारीले जानकारी दिए । कूल १३ जिल्लाका ११९ वडामा स्वास्थ्य बिमा गराउन लागिएको हो ।

मन्त्रालयका अनुसार गत आवमा आश्रममा आश्रितहरुको मात्र बिमा गरिएको थियो । चालु आवमा बिमा बोर्डमार्फत प्रत्येक वडासम्म पुग्ने गरी कार्यक्रम तय गरिएको छ ।

स्वास्थ्य बिमा नभएका कारण औषधि उपचार गर्दा महँगो खर्च हुने र पैसा अभावकै कारणले उपचार गराउन पाउन समस्या छ । सोही समस्यालाई ध्यानमा राख्दै प्रदेश सरकारले लक्षित निःशुल्क स्वास्थ्य बिमा कार्यक्रम लागू गर्न लागेको हो ।

निःशुल्क बिमामा अधिकतम ५ जनासम्मको परिवारलाई १ लाखदेखि १ लाख २५ हजारसम्मको बिमा गरिन्छ । बीमितले तोकिएको सरकारी तथा निजी अस्पतालमा निःशुल्क उपचार र औषधिको सुविधा पाउनेछन् ।

स्वास्थ्य बिमा बोर्डका अनुसार मकवानपुरमा स्वास्थ्य बिमा गराउनेको सङ्ख्या बढ्दै गएको छ । हालसम्म करिब १ लाख ५२ हजारभन्दा बढी व्यक्तिले स्वास्थ्य बिमा भइसकेको छ । ५ वर्षअगाडि सुरु गरिएको बिमा कार्यक्रम अन्तर्गत ९१ प्रतिशतले नवीकरण गराइसकेका छन् ।