एनआइसी एसिया बैंकको खुद नाफा ४ अर्ब ६५ करोड, इपीएस सर्वाधिक

एनआइसी एसिया बैंकको खुद नाफा ४ अर्ब ६५ करोड, इपीएस सर्वाधिक


काठमाडौं ।

एनआईसी एशिया बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार ४ अर्ब ६५ करोड १३ लाख ३८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

अघिल्लो आवको सोही अवधिको तुलनामा बैंकले १०.३५ प्रतिशतले बढेको हो । अघिल्लो आवको चौथो त्रैमासको अन्त्यसम्ममा बैंकले ४ अर्ब २१ करोड ४९ लाख २६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

विवरण अनुसार बैंकको इपीएस वाणिज्य बैंकहरु मध्येकै सर्वाधिक हो । बैंकको वार्षिक प्रति सेयर आम्दानी ४० रुपैयाँ २२ पैसा रहेको छ ।अघिल्लो आवको सोही अवधिमा बैंकको इपीएस ३६ रुपैयाँ ४५ पैसा छ । गत आवमा एनआईसीपछि स्ट्याण्डर्ड चार्टर्ड बैंकको ईपीएस ३७ रुपैयाँ ३८ पैसा छ ।

असार मसान्तसम्ममा बैंकको निक्षेप संकलन ७.४० प्रतिशतले बढेर ३ खर्ब ११ अर्ब ३६ करोड ७९ लाख रुपैयाँ रहेको छ । यस्तै कर्जा लगानी ३.८२ प्रतिशतले बढेर २ खर्ब ६२ अर्ब ०९ करोड ८७ लाख रुपैयाँ पुगेको छ ।

असार मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा ३ अर्ब ९६ करोड ८८ लाख ३४ हजार रुपैयाँ रहेको छ । अघिल्लो आवभन्दा ७.९३ प्रतिशतले वितरणयोग्य मुनाफा बढाएको बैंकले गत आवबाट ३४.३२ प्रतिशत लाभांश वितरण गर्ने क्षमता राख्दछ ।

बैंकले अघिल्लो आवको तुलनामा ९.५८ प्रतिशतले खुद ब्याज आम्दानी वृद्धि गरी १२ अर्ब ३७ करोड ११ लाख ६४ हजार रुपैयाँ संकलन गरेको छ । यस्तै बैंकले फि कमिसन आय १४.८३ प्रतिशतले वृद्धि गर्दै २ अर्ब ३२ करोड ३४ लाख रुपैयाँ संकलन गरेको छ । बैंकको सञ्चालन नाफा १४.४५ प्रतिशत बढेर ६ अर्ब ८२ करोड ७३ लाख ३२ हजार रहेको छ ।

चुक्ता पुँजी ११ अर्ब ५६ करोड ४० लाख ५ हजार रुपैयाँ रहेको बैंकको असार मसान्तसम्ममा पूँजीकोष अनुपात १३.३९ प्रतिशत छ । बैंकको खराब कर्जा ०.८० प्रतिशत छ । अघिल्लो वर्ष असार मसान्तमा बैंकको एनपिएल ०.५३ प्रतिशत थियो । ९.९८ प्रतिशत बेसरेट रहेको एनआईसी बैंकले स्प्रेड दर ४.४० प्रतिशतबाट घटेर ३.९९ प्रतिशतमा झरेको छ ।

बैंकको जगेडा कोष ४६ प्रतिशतले बढेर १४ अर्ब ३८ करोड ८४ लाख ३८ हजार कायम भएको छ । विगत दुई आर्थिक वर्षदेखि सेयरधनीलाई लाभांश वितरण नगरेको बैंकको सेयरधनी कोष ७.९३ प्रतिशतले बढोत्तरी भई ३ अर्ब ६९ करोड ८८ लाख ३४ हजार रुपैयाँ पुगेको छ । असार मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १९.७४ गुणा रहेको छ भने प्रति सेयर नेटवर्थ २५६ रुपैयाँ ४१ पैसा छ ।