मन्थली नगरपालिकाका ६ वटा वडा कार्यालय भवन एकैसाथ बन्दै

मन्थली नगरपालिकाका ६ वटा वडा कार्यालय भवन एकैसाथ बन्दै


रामेछाप ।

रामेछापको मन्थली नगरपालिका ६ वटा वडा कार्यालय भवन एकैसाथ निर्माण भइरहेका छन् ।

वडा कार्यालयका ती भवन एकै डिजाइनका बन्दै छन् । ती मध्ये केही वडा कार्यालयका पुराना कच्ची भवन भत्काएर नयाँ भवन निर्माण सुरु गरिएको हो भने केही भाडामा बसेका कार्यालयका नयाँ भन निर्माण सुरु गरिएको मन्थली नगरपालिका कार्यालयले जनाएको छ ।

कूल १४ वटा वडा रहेको मन्थली नगरपालिकाको १, ३, ७, ८, ११ र १३ का पक्की भवन निर्माणको काम भइरहेको छ । ती वडामा २÷२ करोड रुपैयाँको लागतमा एकै डिजाइनका पक्की भवन निर्माण भइरहेको मन्थली नगरपालिकाका पूर्वाधार विकास तथा अनुगमन शाखाका वरिष्ठ इञ्जिनियर डिल्लीबहादुर अधिकारीले बताए । ती भवनको निर्माण कार्य यसै आर्थिक वर्षमा सम्पन्न भई सेवा प्रवाह हुने अपेक्षा गरिएको छ ।

निर्माणाधीन भवन मध्ये वडा नं ८ को सघन शहरी तथा भवन निर्माण आयोजना मार्फत निर्माण भइरहेको हो । वडा नं १ मा नगरको आफ्नै लगानी निर्माण भइरहेको छ । त्यस्तै नगरपालिका– ३, ७, ११ र १३ को भवन मन्थली नगरपालिका र संघीय सरकारको लागत साझेदारीमा निर्माण भइरहेको अधिकारीले जानकारी दिए ।

नगरपालिकाको– २, १० र १४ नम्बर वडामा यस अघि नै पक्की कार्यालय भवन निर्माण भई सेवा प्रवाह भइरहेको छ । अब नगरपालिकाका– ४, ५, ६, ९ र १२ मा पक्की भवन निर्माण हुन बाँकी छ । भवन बन्न बाँकी मध्ये वडा ६ नं को आफ्नै भवन छैन । अन्य वडा कार्यालयका कच्ची भवन छन् ।

नगरपालिकाले सबै वडाका पक्की कार्यालय भवन निर्माण गरी सेवा प्रवाह गर्ने योजना बनाएको छ । आफ्नो कार्यकालमा सबै वडा कार्यालयका पक्की भवन बनाइ नगरपालिकाबाट वडा कार्यालयसम्म पक्की सडक र्पुयाउने योजना रहेको मन्थली नगरपालिका प्रमुख लब श्रेष्ठले बताए ।