श्रमदान गरेर गाउँ बनाउँदै लेखर्कवासी

श्रमदान गरेर गाउँ बनाउँदै लेखर्कवासी


भोजपुर ।

टेम्केमैयुङ गाउँपालिका–९ लेखर्कवासी श्रमदानमार्फत गाउँ विकासमा जुटेका छन् ।

बाढीपहिरो लगायतका कारण सडकसँगै विभिन्न ठाउँमा क्षति पुगेपछि उनीहरू यो अभियानमा जुटेका हुन् ।

वडा कार्यालयको अगुवाइमा भइरहेको यो अभियानमा गाउँलेहरू भेला भएर यहाँका विकास निर्माणको क्षेत्रमा काम गरिरहेका छन् । सडक अवरुद्ध हुँदा आवतजावतमा समस्या भएपछि उनीहरूले श्रमदान गरेर बाटो मर्मत गर्ने, पर्खाल लगाउने, सडकको नाली कटाउनेलगायतका काम गरिरहेको हो ।

श्रमदानमार्फत कपासे खोला, ओइराङको पुरुवा खोला, बुतुङको पहिरो हटाएको र सेल्मेका विभिन्न ठाउँमा पर्खालसँगै यहाँको ऐतिहासिक पाँचधारे पोखरी आसपासमा वृक्षरोपण गरेको गरिएको छ । त्यस्तै बाढीको कारण निकै ठूलो क्षति पुगेको राउते खोलामा पनि श्रमदानमार्फत सडक सोलिङ गरिएको छ ।

यो ठाउँको ठूलो पहिरो गाउँपालिकाले जेसिबी लगाएर हटाएरपछि स्थानीयले श्रमदानबाट सोलिङ गरेको वडाध्यक्ष नभराज माङ्पाहाङ्गले जानकारी दिए । “स्थानीय तहमा आएको बजेटले सबै काम गर्न सम्भव छैन”, वडाध्यक्ष माङ्पाहाङ्गले भने “प्राकृतिक विपत्तिका कारण सयौँ ठाउँमा सडक बिग्रिएको अवस्था छ । सडक बिग्रेका कारण समस्या भएपछि हामी श्रमदानमार्फत विकासमा जुटेका छौँ ।”

यहाँको पाँचधारे पोखरीको आसपासको सरसफाइसँगै चाँप, लालीगुराँस, विभिन्न जातका फूल र पानीको मुहान नसुकोस् भन्नका लागि यहाँ वनकेराको बिरुवा रोपिएको छ ।

बजार लाग्ने क्षेत्र भएकाले पाँचधारे आसपासमा रहेको प्लाष्टिक र बोतलको व्यवस्थापन गर्न समस्या रहेको छ ।

यहाँ महिनामा २ पटक बजार लाग्ने गरेका कारण वातावरणलाई हानी पुर्याउने खालका धेरै फोहर संकलन हुने गरेको छ । फोहर व्यवस्थापन यहाँको ठूलो चुनौतीका रूपमा रहेको वडाध्यक्ष माङ्पाहाङ्गले बताए ।