१ वर्षमा नेपाली महिलाले लगाए ७८ करोडको फेसक्रिम र ५ करोडको नेल पोलिस

१ वर्षमा नेपाली महिलाले लगाए ७८ करोडको फेसक्रिम र ५ करोडको नेल पोलिस


काठमाडौं । 
दैनिक जीवनमा प्रयोग हुने सामग्रीको आयातमा ठूलो धनराशि खर्च भएको पाइएको छ ।
सिन्दुर, टुथपेस्ट, कपाल स्याहारको सामग्री आयातमा ठूलो धनराशि विदेशिएको छ । भन्सार विभागले सार्वजनिक गरेको विवरणअनुसार त्यस्ता सामग्रीको आयातका लागि मात्रै ठूलो परिमाणमा विदेशी मुद्रा खर्च भइरहेको छ ।
विभागका अनुसार गत आर्थिक वर्षमा ‘नेल पोलिस’को आयातमा मात्रै ५ करोड २७ लाख १८ हजार बाहिरिएको छ ।  त्यस्तै फेसक्रिम आयतमा ७८ करोड ५ लाख ८१ हजार विदेशिएको छ । त्यस्तै आर्थिक वर्ष २०७९/८० मा ४६ करोड ९ लाख ८९ हजार मूल्य बराबरको ‘बडी लोसन’ आयात भएको छ । यसबाट सरकारले  २३  करोड ४ लाख ८३ हजार राजस्व संकलन गरेको छ ।
१ करोडको सिन्दुर आयात 
विशेष गरी हिन्दू महिलाले प्रयोग गर्ने सिन्दुरको आयातमा पनि ठूलो धनराशि खर्च भएको छ । पछिल्लो १ वर्षमा मुलुकमा १ करोड ५ लाख ६५ हजारको सिन्दुर आयात भएको छ । गत आवमा सिन्दुर भारत र इन्डोनेसियाबाट आयात भएको छ ।
३ अर्ब बढीको कपाल स्याहारका सामग्री आयात 
विभागका अनुसार गत आवमा ३ अर्बभन्दा बढीको कपाल स्याहारका वस्तु आयात भएका छन् । कपालको स्याहारमा प्रयोग हुने स्याम्पु, तेल, क्रिम, रङलगायत वस्तु आयातमा उक्त धनराशि खर्च भएको हो ।
गत आवमा  ६३ करोड २१ लाख ३३ हजार मूल्यको स्याम्पु आयात भएको छ  भने  ६९ करोड ७७ लाख ७९ हजार मूल्यका कपालमा लगाउने तेल आयात भएको छ । साथै सात करोड ३२ लाख ३८ हजार बराबरको कपालमा लगाउने क्रिम आयात भएको छ ।
त्यस्तै कण्डिस्नर आयातमा  १० करोड ४५ लाख ४७ हजार खर्च भएको छ । कपाल रंगाउने वस्तु आयातमा ६२ करोड २० लाख ८३ हजार बाहिरिएको देखिन्छ । त्यस्तै कपाल हेरचारका अन्य वस्तु आयातमा  ९७ करोड ६१ लाख २० हजार भन्दा बढी रकम विदेशिएको छ ।
आँखा र ओठ शृङ्गारमा ५५ करोड 
विभागका अनुसार गत आवमा ओठ र आँखा शृङ्गारका सामान आयातमा करोडौँ बाहिरिएको छ । गत आवमा मेकअपका सामान आयातमा ३६ करोड ४४ लाख ६० हजार बाहिरिएको छ । जसमा आँखा मेकअपका लागि मात्रै १९ करोड ४० लाख ८० खर्च भएको छ । त्यस्तै अन्य शृङ्गारका सामग्री आयातमा ३ अर्ब १३ करोड भन्दा बढी रकम मुलुकबाट बाहिरिएको छ ।
१६ करोडको टुथपेस्ट
त्यस्तै विभागका अनुसार गत आवमा मुलुकमा ७१ करोड ३२ लाख ५८ हजार मूल्य बराबरको टुथपेस्ट (मञ्जन) आयात भएको छ । यस्तै, ५४ करोड ८४ लाख ८३ हजार मूल्य बराबरको मञ्जन निर्यात भएको छ ।
पेन्सिल, मार्कर आयातमा १ अर्ब बाहिरियो 
विवरण अनुसार गत आर्थिक वर्षमा १ अर्बभन्दा बढीको पेन, पेन्सिल, मार्कर तथा यसका वस्तु आयात भएका छन् । गत आवमा  ५७ करोड ७६ लाख ९८ हजारको वलपेन आयात भएको छ । त्यस्तै  १४ करोड ३८ लाख भन्दा बढिको पेन तथा मार्कर आयात भएको छ । विभागका अनुसार गत आवमा ५४ करोड ५१ लाखभन्दा बढीको पेन्सिल तथा पेन्सिलको लिड आयात भएका छन् । गत आवमा १ करोड ७२ लाकको पेनका निव, ३ करोड ७२ लाखका पेनको रिफिल तथा मसी आयात भएको तथ्यांक छ ।
पकेट लाइटर आयातमा ५२ करोड खर्च
गत आवमा ५२ करोडभन्दा बढीको पकेट लाइटर आयात भएको छ । त्यसमा  ४६ करोड ७२ लाख १५ हजारको पुनः ग्यास भर्न नमिल्ने, एक करोड २३ लाख ९८ हजारको ग्यास भर्न मिल्ने तथा अन्य लाइटर ५१ लाख ५५ हजारको आयात भएको देखिन्छ ।
६८ लाखको सेल्फी स्टिक आयात 
विभागका अनुसार मोबाइलबाट फोटो खिच्न प्रयोग हुने विशेष प्रकारको लठ्ठी (सेल्फी स्टिक)को आयातमा ६८ लाख ४४ हजार खर्च भएको छ भने २ करोड ५५ लाख २६ हजार बराबरको ट्राइपड आयात भएको छ ।