लिफ्टमार्फत ६ सय ६० मिटर तलको पानी घर-घरमा पुर्‍याइयो

लिफ्टमार्फत ६ सय ६० मिटर तलको पानी घर-घरमा पुर्‍याइयो


बागलुङ ।

जैमिनी नगरपालिका–१० राङ्खानी भेडिखर्कका स्थानीय आँगनमै धारा बनेपछि दङ्ग रहेका छन् ।

बर्खामा सामुदायिक धारा प्रयोग गरेपनि हिउँदमा कुवाको पानीमा निर्भर रहेका यहाँका स्थानीय अहिले गाउँमुनिको पानी घर–घरमै आउन थालेपछि खुसी भएका हुन् ।

स्रोत अभावका कारण लामो समयदेखि खानेपानीको संकट भोग्दै आएका यहाँका ३९ घरमा नेपाल स्वास्थ्यका लागि पानी (नेवा) ले लिफ्टमार्फत खानेपानी पुर्‍याएको हो ।

६ सय ६० मिटर तलको झाँक्रिस्थानको मूलबाट उक्त पानीलाई गाउँमाथि पुर्‍याएर वितरण गरिएको हो ।

बर्खामा घर माथिको समुदायिक धारामा दिनको २ घण्टा पानी आउँथ्यो, हिउँदमा नजिकैको कुवामा पानी लिन जानुपर्ने समस्या थियो ।

एक महिना देखि २४ सै घण्टा धारामा पानी खस्दा त्यहाँका स्थानीयको दैनिकी बदलीएको छ ।

विसं २०७२ सालको भूकम्पपछि यहाँका खानेपानीको मुहान सुकेपछि खानेपानीको समस्या हुँदै आएको थियो । लिफ्टमार्फत घर–घरमै पानी आउन थालेपछि दैनिकी सहज भएको स्थानीयले बताएका छन् ।

बस्ती भन्दा ६ सय ६० मिटर तल रहेको मुलको पानी माथिसम्म आउला भनेर कल्पना नै नगरेको स्थानीय मीना पुनले बताइन् ।

जिल्लाका १७ स्थानमा नेवाले आयोजना सञ्चालन गरिरहेको भन्दै ‘एक घर एक धारा’ अभियानअन्तर्गत जैमिनी–१० को भेडिर्खकामा लिफ्टमार्फत खानेपानी पुर्‍याइएको नेवा कार्यक्रमका अधिकृत विनोद कोइरालाले बताए । उनका अनुसार जिआई पाइपमार्फत २ ठाउँमा मोटर जोडेर बस्तीमा पानी ल्याइएको हो ।

उनका अनुसार ८३ लाख ४६ हजार लागतमा खानेपानी पुर्‍याइएको हो । जैमिनी नगरपालिकाको १४ लाख ९८ हजार, नेवाको ५९ लाख ९० हजार, ७ लाख २० हजार बराबरको स्थानीयको श्रमदान र स्थानीय उपभोक्ता समितिको १ लाख २४ हजार लागतमा खानेपानी आयोजना सम्पन्न गरिएको कोइरालाले जानकारी दिए ।

अहिले दैनिक २ घण्टा लिफ्ट आयोजनाबाट पानी तान्दा ३९ घरमा २४ घण्टै खानेपानी पुगेको खानेपानी आयोजनाका व्यवस्थापनक शेरबहादुर विकले जानकारी दिए । उनले हिँउदको समयमा भने दिनको २ पटक पानी तान्नुपर्ने बताए ।