नबिल र ग्लोबल आईएमई बैंकको नाफा ७ अर्ब बढि

नबिल र ग्लोबल आईएमई बैंकको नाफा ७ अर्ब बढि


 काठमाडौं ।

गत आर्थिक वर्ष नबिल र ग्लोबल आइएमई बैंकले ७ अर्ब बढि नाफा कमाएको छ ।

चौथो त्रैमाससम्ममा सबैभन्दा बढि नाफा नबिल बैंकले कमाएको छ । गत वर्ष नेपाल बंगलादेश बैंकलाई गाभेको नबिल बैंकले सबैभन्दा धेरै ७ अर्ब ५२ करोड ७१ लाख ४९ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

यस्तै, बैंक अफ काठमाडौं लाई गाभेको ग्लोबल आइएमई बैंकले नबिल बैंकलाई पछ्याएको छ । यस अवधीमा ग्लोबल आइएमई बैंकले ७ अर्ब २५ करोड ३४ लाख ५५ हजार नाफा कमाएको छ । यी दुई बैंकहरू मध्ये अन्य बैंकहरूको नाफा ५ अर्ब भन्दा कम रहेको छ ।

बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार गत वर्ष नबिल बैंकको नाफा ७६.८६ प्रतिशतले बढेको छ भने ग्लोबल आइएमई बैंकको ४६‍.२६ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षमा उक्त बैंकहरूको नाफा क्रमशः ४ अर्ब २५ करोड ६० लाख २४ हजार रुपैयाँ र ४ अर्ब ९५ करोड ९२ लाख २५ हजार रुपैयाँ रहेको थियो ।

नबिल बैंकले गत आर्थिक वर्षमा १७ अर्ब ९८ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ भने २ अर्ब ८९ करोड रुपैयाँ फि तथा कमिसन आम्दानी र २१ अर्ब ६७ करोड रुपैयाँ सञ्चालन आम्दानी गरेको छ। यस्तै ग्लोबल आइएमई बैंकले पनि १७ अर्ब ११ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ भने २ अर्ब ६ करोड फि तथा कमिसन आम्दानी र १९ अर्ब ८८ करोड रुपैयाँ सञ्चालन आम्दानी गरेको छ।

गत आर्थिक वर्षको विवरण अनुसार ग्लोबल आईएमई बैंक चुक्ता पूँजी, निक्षेप र कर्जामा नम्बर १ भएको छ। बैंकको कुल चुक्ता पूँजी ३५ अर्ब ७७ करोड १० लाख ६० हजार रुपैयाँ पुगेको छ भने निक्षेप संकलन ४ खर्ब २६ अर्ब ३२ करोड ५४ लाख ४६ हजार रुपैयाँ र कर्जा लगानी ३ खर्ब ५६ अर्ब ३९ करोड ४७ लाख रुपैयाँ पुगेको छ।

यस्तै, नबिल बैंकको कुल चुक्ता पूँजी २७ अर्ब ५ करोड ६९ लाख ९७ हजार रुपैयाँ पुगेको छ भने निक्षेप संकलन ३ खर्ब ९६ अर्ब ८४ करोड ३४ लाख ९९ हजार रुपैयाँ र कर्जा लगानी ३ खर्ब ३२ अर्ब ६९ करोड ८८ लाख ५४ हजार रुपैयाँ पुगेको छ ।