हात भाँचिएर अस्पताल पुगेकी बिक दूधे बालकसहित घर फर्किइन

हात भाँचिएर अस्पताल पुगेकी बिक दूधे बालकसहित घर फर्किइन


मुगु ।

मुगु जिल्ला छायाँयानाथ रारा नगरपालिका वडा नम्बर १२ भिताडकी २६ बर्षकी नानी बिकको हात भाँचिदा ८ महिनाकी गर्भवती थिइन ।

असारको अन्तिम साता उनको हात भाचिँदा उपचार खर्च पनि नभएर उनको हाल बेहाल थियो ।

गरिबीको कारण उपचार खर्च नपाउँदा धामी बैजी र अन्य उपचार गरी थला परेकी नानी बिक अहिले सहयोगी मनहरुको सहयोगबाट उपचार गराएर दूधेबालक काखमा लिएर घर फर्केकी छन ।

चरम गरिबीको कारण नानी बिकको घरमा बिहान बेलुकी छाक टार्न समेत समस्या छ । ८ महिनाको गर्भ भएकै बेला खेतमा काम गर्न गएको बेला लडेर हात भाँचिदा उनी थप असहाय बनिन ।

उपचारका लागि आर्थिक अभाव भइरहेको अवस्थामा सरकारी जिल्ला अस्पतालमा मुगुले जुम्ला रिफर गर्दा उनी थप मारमा परेकी थिइन् । गोजीमा १ रुपैयाँ पनि नभएर उपचार गर्न असम्भव झै अवस्थामा स्थानीय पत्रकार दानबहादुर बूढा र नन्द बहादुर रोकायले समाचार बनाइदिएपछि दाताको सहयोगमा उनको उपचार सम्भव भएको थियो ।

विदेशमा बस्ने मुगाली रारा प्रवास समाजका सदस्य र अन्य नेपाली दाजुभाई, मेची महाकाली बुहारी अभियान मुगुकी अध्यक्ष सुर्जेदेवि मल्लले आर्थिक सहयोग गरेपछि नानीको उपचार सम्भव भएको थियो ।

यसका साथै मुगु जिल्ला अस्पतालका डाक्टर नकुल शाही, जुम्ला कर्णाली स्वास्थ्य  विज्ञान प्रतिष्ठान  डाक्टरले चिकित्सकीय सेवा, शल्यक्रिया, औषधि सबै निशुल्क नानी विकको उपचार थप सहज भएको थियो ।

अहिले नानी बिकको भाँचिएको हातको अप्रेसन सफल भएको छ भने काखमा छोरा समेत च्यापेर घर फर्किएकी छिन् । केही समयको आरामपछि हातको उनको हातमा राखिएको फलामको रड झिकिने चिकित्सकहरूले बताएका छन् ।