लम्पी स्किनले ४२ चौँरी मरे, बाँचेका चौँरीको पनि दूध सुक्याे

लम्पी स्किनले ४२ चौँरी मरे, बाँचेका चौँरीको पनि दूध सुक्याे


रामेछाप ।

लम्पी स्किन रोगका कारण रामेछापको सैलुङमा ४२ वटा चौँरी मरेका छन् । 

दोरम्बा सैलुङ गाउँपालिकाको डडुवा र गौश्वाराको जंगलमा रहेका चौँरी गोठका अधिकांश चौँरी मरेको राष्ट्रिय याक तथा चौँरी किसान महासंघ नेपालका महासचिव दावासंबु शेर्पाले बताए । 

जंगलमा रहेको चौँरी गोठमा समेत लम्पी स्किन रोगको सङ्क्रमण फैलिएको कारण अधिकांश चौँरी बिरामी परेको शेर्पाले बताए । बिरामी मध्ये ४२ वटा चौँरी मरिसकेका उनको भनाइ छ । 

सैलुङमा अहिले चौँरीका १५ वटा गोठ छन् । ती मध्ये १४ वटा रामेछापका किसानका छन भने एउटा गोठ दोलखाका किसानको छ ।   ती गोठमा करिब ५ सय चौँरी रहेका शेर्पाले बताए । 

मुख्य दूध दिने सिजनमा चौँरी बिरामी परेर धमाधम मर्न लागेपछि चौँरीपालक किसानहरू चिन्तित भएका छन् । रोग लागेपछि दूध सुक्ने भएका कारण यस वर्ष किसानहरूको आम्दानी चौपट भएको शेर्पाको भनाइ छ ।  

उनले भने ‘ रोग लागेपछि दूध ठप्पै हुँदो रहेछ, मर्ने त मरिसके, बाँचेका चौँरीको पनि दूध सुक्दा किसानले ठूलो क्षति ब्यहोर्नु परेको छ’। 

चौँरी बिरामी पर्दा किसानले प्राविधिक र औषधि पाएका छैनन् । गाउँपालिकामा पटक पटक अनुरोध गर्दा पनि समयमा नै खोप नलाइदिएको कारण किसानले क्षति बेहोर्नु परेको शेर्पाले बताए । 

एउटै गोठमा पालेका पाँच वटासम्म चौँरी मरेका शेर्पाको भनाइ छ। सैलुङका  फूर्वा तामाङको गोठमा पालेका ५ वटा चौँरी मरेको उनले जानकारी दिए । एउटा चौँरीको मूल्य १ लाख रुपैयाँसम्म पर्दछ । 

लम्पी स्किन रोगका कारण  रामेछापमा झण्डै ७ सय पशु मरिसकेका छन् । जिल्लामा ३० हजार बढी पशु रोगबाट संक्रमित छन् । 

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सिन्धुलीको सम्पर्क कार्यालय रामेछापका प्रमुख प्रकाश थापाका अनुसार जिल्लाका आठ वटै स्थानीय तहमा पशुमा संक्रमण फैलिएको छ ।