सिटिजन लाइफकाे आइपिओ बाँडफाँट, १८ हजार २९ जनाले पाए थप १० कित्ता सेयर

सिटिजन लाइफकाे आइपिओ बाँडफाँट, १८ हजार २९ जनाले पाए थप १० कित्ता सेयर


काठमाडौँ ।

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडकाे आइपिओ बाँडफाँट भएको छ ।

वैदेशिक रोजगारमा रहेका नेपालीलाई निष्कासन गरेको सेयर सोमबार निष्काशन तथा बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटलले बाँडफाँट गरेको हो ।

कम्पनीको आइपिओमा १९ लाख ३० हजार ९०० कित्ता खरिदका लागि २७ हजार ६३२ जनाबाट आवेदन प्राप्त भएकामा ४ जना आवेदकबाट ३३० कित्ता रीतपूर्वक नदेखिएकाले सो आवेदनलाई अयोग्य ठहर्‍याउँदै रद्द गरिएकाे छ भने २७ हजार ६२८ जना आवेदकबाट १९ लाख ३० हजार ५७० कित्ताका लागि रीतपूर्वक दरखास्त प्राप्त भएको बताइएकाे छ ।

तीमध्ये न्यूनतम १० कित्तादेखि ४० कित्तासम्म माग गर्ने ७ हजार ८८५ आवेदकलाई मागबमोजिम १ लाख ५४ हजार ९९० कित्ता तथा ५० कित्तादेखि २ हजार कित्तासम्म माग गर्ने १९ हजार ७४३ आवेदकलाई ४० कित्ताका दरले ७ लाख ८९ हजार ७२० कित्ता गरी कुल ९ लाख ४४ हजार ७१० कित्ता बाँडफाँट गरिएको छ ।

बाँडफाँटपछि बाँकी रहन गएको १ लाख ८० हजार २९० कित्ताको हकमा ५० कित्तादेखि २ हजार कित्तासम्म माग गर्ने १९ हजार ७४३ जना आवेदकलाई पुनः १० कित्ताका दरले बाँडफाँट गर्न अपुग हुने भएकाले धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिका, २०७४ मा भएको व्यवस्थाबमोजिम ५० कित्तादेखि २ हजार कित्तासम्म माग गर्ने सम्पूर्ण आवेदकलाई एउटै समूहमा राखी गोलाप्रथाद्वारा थप १० कित्ताका दरले १८ हजार २९ जना सफल आवेदक छनोट गरी १ लाख ८० हजार २९० कित्ता बाँडफाँट गरिएको क्यापिटलले जनाएको छ।

कम्पनीले असार ३१ गतेदेखि साउन १४ गते सम्म श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकको लागि आइपिओ निष्कासन गरेको थियो ।

कम्पनीले जारी पुँजी ३ अर्ब ७५ करोड रुपैयाँको ३० प्रतिशत अर्थात् १ अर्ब १२ करोड ५० लाख रुपैयाँ बराबरको अंकित मूल्य सय रुपैयाँमा १४४ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २५७ रुपैयाँका दरले १ करोड १२ लाख ५० हजार कित्ता सेयर जारी गरेको थियो । जसमध्ये १० प्रतिशत अर्थात् ११ लाख २५ हजार कित्ता नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीलाई बिक्री खुला गरेको हो ।