देशैभरी वर्षा : आज यी सडक अबरुद्ध छन्

देशैभरी वर्षा : आज यी सडक अबरुद्ध छन्


काठमाडौं ।

नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–६ स्थित कालिखोलामा पहिरो खसेसँगै सडक अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार आज बिहान लेदोसहितको पहिरो खसेसँगै सडक दुईतर्फी अवरुद्ध भएको छ । पहिरो पन्छाउन तयारी भइरहेको उनले जानकारी दिए । पहिरोका कारण सडक अवरुद्ध भएसँगै सो सडक भएर गुड्ने सवारीसाधन अलपत्र परेका छन् । यस सडक खण्डमा पटक–पटक पहिरो खस्दै आएको छ ।

यता मकवानपुरमा झरीका कारण पहिरो जाँदा हेटौँडालाई काठमाडौँसँग जोड्ने २ छोटा राजमार्ग अवरुद्ध भएका छन् ।

पहिराका कारण कान्तिलोकपथ र मदन भण्डारीमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

गए राति मकवानपुरको भीमफेदी गाउँपालिका–२ ज्यालटारस्थित मदन भण्डारीमार्ग हेटौँडा–भैसे–भीमफेदी–कुलेखानी–काठमाडौं सडकखण्डमा पहिराका कारण बाटो अवरोध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

वर्षाका कारण पहिरो खसेर बाटो अवरोध भएको भन्ने जानकारी प्राप्त हुनासाथ उक्त स्थानमा प्रहरी सहायक निरीक्षकको कमाण्डमा टोली खटिगएको तथा रातिमा पानी परिरहेकाले पहिरो हटाउन सक्ने अवस्था नरहेको मकवानपुरका प्रहरी प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिए ।

त्यस्तै गए राति नै मकवानपुरको बकैया–११ लामराङस्थित कान्तिलोक पथ सडकखण्डमा वर्षाका कारण पहिरो खसी दुवैतर्फी बाटो अवरोध भएको प्रहरीले जनाएको छ । उक्त स्थानमा प्रहरीले पहिरो हटाउनका लागि सडक विभागसँग समन्वय गर्दा जोखिमका कारण राति पहिरो हटाउन नसक्ने जानकारी प्राप्त भएको प्रहरी प्रवक्ता कार्कीले बताए ।

घोराही–लमही सडकखण्ड अवरुद्ध भएको छ । घोराही–लमही सडक खण्डअन्तर्गत लमही नगरपालिका–६ कुलमोहरमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।

वर्षात्का कारण गए राति खसेको पहिराका कारण सडक अवरुद्ध हुन पुगेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक राजन गौतमले जानकारी दिए । उनका अनुसार सोमबार पहिरो खसेको ठाउँमा पुनः आज पनि पहिरो खस्दा सडक अवरुद्ध हुनपुगेको हो ।

सडक सञ्चालनका लागि पहिरो हटाउने काम भइइरहेको छ । सडक अवरुद्ध हुँदा घोराही–लमही सडकखण्ड भएर चल्ने छोटो तथा लामो दूरीका सवारीसाधन चल्न सकेका छैनन् ।

राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोर अवरुद्ध भएको छ । अबिरल वर्षाका कारण लोकमार्गको बागलुङ–बुर्तिबाङ सडकखण्डअन्तर्गत काठेखोला गाउँपालिका–६ इनारपानी र करिडोरको बागलुङ नगरपालिका–गलुवामा पहिरो झर्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिए ।

मध्यपहाडी लोकमार्गमा एकतर्फी सडक सञ्चालन गर्ने तयारी गरिएको उनको भनाइ छ । गलुवाको पहिरो हटाएर करिडोर सञ्चालन गर्न जेसिबी पठाए पनि त्यसले सडक खुलाउन नसकेको प्रहरी नायब उपरीक्षक केसीले बताए । उक्त सडक खुलाउन ठूलो डोजर नै पठाउनुपर्ने भएकाले पालिका केही समय लाग्ने जानकारी दिएको उनको भनाइ छ ।

करिडोर अवरुद्ध हुँदा जिल्ला सदरमुकामबाट दक्षिण बागलुङको जैमिनी, बलेवा, बरेङलगायतका क्षेत्र सीधा यातायात हुनसकेको छैन भने लोकमार्ग अवरुद्ध हुँदा बुर्तिबाङ, गलकोटबाट काठमाडौँ, पोखारा, चितवन, बागलुङलगायतका ठाउँमा जाने गाडी सडकमै रोकिएका छन् । बागलुङ बजारबाट पश्चितर्फ सञ्चालन हुने गाडी पनि सडकमै ठप्प भएका छन् भने यात्रु बीचबाटोमा अलपत्र परेका छन् ।