आर्थिक मन्दीका कारण स्याङ्जामा २६३ उद्योग बन्द

आर्थिक मन्दीका कारण स्याङ्जामा २६३ उद्योग बन्द


स्याङ्जा ।

स्याङ्जामा गएको आर्थिक वर्षमा २६३ व्यावसायिक फर्महरु बन्द भएका छन् ।

पर्यटन तथा उद्योग कार्यालयका अनुसार जिल्लामा अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष २०७९÷०८० मा धेरै व्यावसायिक फर्महरु बन्द भएका हुन् । २०७८/०७९ मा ८९ फर्महरु बन्द भएका थिए ।

गत आर्थिक वर्षमा बन्द हुने फर्महरुमा कृषि तथा पशुपंक्षी तथा व्यापारीक फर्महरु बढि रहेका छन् । पछिल्लो समय फेन्सी तथा कष्मेटिक पसलहरु पनि बन्द हुने क्रम बढेको छ । आर्थिक मन्दीका कारणले फर्महरु बन्द भएको कार्यालयले जनाएको छ ।

गत आर्थिक वर्षमा जिल्लामा झण्डै ८ सय नयाँ उद्योग थपिएका छन् । यो संख्या अघिल्लो आर्थिक वर्षमा भन्द निकै कम हो । आर्थिक वर्ष २०७९/०८० मा उद्योग कार्यालयमा ७ सय ९८ उद्योग दर्ता भएका छन् । दर्ता हुनेमा उद्योग र वाणिज्य गरी दुई किसिमका उद्योगहरु रहेका छन् । उद्योग तर्फ ५  सय २६ र वाणिज्यमा दुई सय ७२ उद्योग रहेका छन् ।

दर्ता भएका फर्महरुमा उद्योग तर्फ उत्पादनमुलक उद्योग २१, कृषि तथा पशुपंक्षी फर्म तीन सय ४९, पर्यटन तथा होटल रेष्टुरेन्ट ७५, सूचना प्रविधि एक र सेवामुलक ८० गरी पाँच २६ उद्योग गत आर्थिक वर्ष दर्ता भएका थिए । वाणिज्यतर्फ निजी दुई सय ६७, साझेदारी ३ र प्रा.लि. मा २ उद्योग दर्ता भएका छन् ।

उद्योग दर्ताबाट कार्यालयले गत आर्थिक वर्षमा ५१ लाख ८६ हजार चार सय ९७ रुपैयाँ राजस्व संकलन गरेको कार्यालय प्रमुख ठाकुरप्रसाद ढकालले जानकारी दिए । अघिल्लो आर्थिक वर्षमा आठ सय ९४ उद्योग र छ सय ८४ वाणिज्य फर्महरु दर्ता भएका थिए । एक हजार ५७८ उद्योगहरु दर्ता हुँदा ७० लाख चार हजार ३४५ रुपैयाँ राजस्व संकलन भएको थियो ।

अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा उद्योग तथा फर्महरु दर्ता हुने क्रम तुलनात्मक रुपमा घटेका छन् । उद्योग दर्ता हुने क्रम घट्नुमा आर्थिक तरलता, युवाहरु बैदेशिक रोजगारीमा आर्कषित हुनु मुख्य कारण रहेको कार्यालयले जनाएको छ ।

“मुख्य गरी उद्योग दर्ता कम हुनुको कारण आर्थिक मन्दी नै हो ।” प्रमुख ढकालले भने, “आर्थिक मन्दीका कारण देशभरी नै फर्म बन्द गर्नेको संख्या बढी छ भने नयाँ फर्म तथा व्यवसाय गर्ने घटेका छन् ।” आर्थिक मन्दीका कारण जिल्लामा फर्म बन्द हुन क्रम समेत बढेको ढकालले बताए ।

उद्योग व्यवसाय धरासयी बन्दै जाँदा प्रदेश सरकारले राहतको प्याकेजका कार्यक्रमहरु ल्याएमा राहत हुने कार्यालय प्रमुख ढकालको भनाई छ । आर्थिक मन्दीका कारण व्यापार घाटा सहनु भन्दा फर्म नै बन्द गर्न थालेको उनको बुझाई छ ।