नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फी सञ्चालनमा

नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फी सञ्चालनमा


मकवानपुर ।

नारायणगढ-मुग्लिन सडकखण्ड एकतर्फी सञ्चालनमा आएको छ ।

२ ठाँउको पहिरो पन्छाएपछि बिहान ९ः३० बजेदेखि सडक एकतर्फी सञ्चालनमा आएको हो ।

आज बिहान करिब ५ः२० बजेको समयमा इच्छाकामना गाउँपालिका–६ कालिखोला नजिक माथिबाट लेदोसहितको पहिरो खसेर सडक अवरुद्ध भएको हो ।

सो पहिरो आएको केही समयपछि ५ सय मिटर नजिकमा रहेको टोपेखोलामा पनि पहिरो गएको थियो । दुवै ठाँउको पहिरो पन्छाएर सडक एकतर्फी सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय चितवका प्रमुख रामेश्वर कार्कीले जानकारी दिए ।

२ तर्फी सडक सञ्चालनका लागि सडक डिभिजन कार्यालयको एक्साभेटर प्रयोग गरेर पहिरो पन्छाउने काम भइरहेको उनले बताए ।

सडक एकतर्फी सञ्चालनमा आएसगै रोकिएका सवारीसाधन र यात्रुहरु गन्तव्यतर्फ लागेका छन् । नारायणगढ–मुग्लिन सडक खण्ड पटक–पटक अबरुद्ध हुँदा यात्रुले सास्ती खेप्दै आएका छन् । यो सडकखण्ड राजधानी काठमाडौँ र पोखरा सहरलाई तराईसँग जोड्ने मुख्य राजमार्ग हो ।