सिटिइभिटीमा २०० जनालाई निःशुल्क प्राविधिक शिक्षा अध्ययनको अवसर, कसरी भर्ने फारम ?

सिटिइभिटीमा २०० जनालाई निःशुल्क प्राविधिक शिक्षा अध्ययनको अवसर, कसरी भर्ने फारम ?


काठमाडौँ । 

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) ले प्रि–डिप्लोमा तथा डिप्लोमा तहमा निःशुल्क अध्ययनको लागि आवेदन खुला गरेको छ । 

प्राविधिक शिक्षाको पहुँच नपुगेका ८० वटा स्थानीय तहका छात्रछात्रालाई प्रि-डिप्लोमा तथा डिप्लोमा तहमा विशेष छात्रवृत्तिको सुविधा ल्याएको हो । 

सिटिइभिटीले एक सूचना जारी गर्दै  प्रि-डिप्लोमा तहमा ८० जना र डिप्लोमा तहमा १२० जना गरी जम्मा २०० जनाको लागि निःशुल्क प्राविधिक शिक्षा अध्ययन गर्नका लागि आह्वान गरेको छ । 

यसका लागि योग्य नेपाली नागरिकहरूले प्रवेश परीक्षाको आवेदन फाराम भरी बुझाउन पर्ने छ । 

प्रि–डिप्लोमा तहमा फाराम भर्नका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट एस.एल.सी. वा सो सरहको परीक्षा उत्तीर्ण गरेको या एसइईका सम्पूर्ण विषयको परीक्षामा समावेश भई न्यूनतम ई ग्रेड वा सो सरह वा ग्रेड सिट प्राप्त गरेको हुनुपर्ने छ । 

डिप्लोमा तहको लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट अनिवार्य गणित, अंग्रेजी र विज्ञान विषय लिई एस.एल.सी. वा सो सरहको परीक्षा उत्तीर्ण वा परिषद्बाट सञ्चालन हुने कार्यक्रमसँग सम्बन्धित प्राविधिक एसएलसी प्रि-डिप्लोमा तहको कुल पूर्णांकमा ६८.३३ प्रतिशत अंक प्राप्त गरी उत्तीर्ण गरेको या मान्यता प्राप्त शिक्षण संस्थाबाट प्रवेशिका वा एसइई परीक्षामा अनिवार्य अंग्रेजी, गणित र विज्ञान विषय लिई समग्रमा न्यूनतम स्तरीकृत अंक ४.० मा १.६ जि.पि.ए. अथवा सो सरह वा परिषद्बाट सञ्चालन हुने कार्यक्रमसँग सम्बन्धित प्राविधिक एसएलसी प्रि–डिप्लोमा तहको कुल पूर्णांकमा ६८.३३ प्रतिशत अंक प्राप्त गरी उत्तीर्ण गरेको हुनुपर्ने सूचनामा उल्लेख छ । 

आवेदकले यही साउन २३ गते मंगलबार देखि २०८० भाद्र ०८ गते शुक्रवार सम्म फारम बुझाउन सक्नेछन् । यसका लागि कुनै दस्तुर लाग्ने छैन । 

परीक्षा २०८० भाद्र १६ गते शनिबार बिहान ११ बजे हुनेछ । परीक्षा केन्द्रसम्बन्धी विस्तृत जानकारी २०८० भाद्र ११ गतेको गोरखापत्र राष्ट्रिय दैनिकमा प्रकाशन गरिने सूचनामा उल्लेख छ ।